– नन्दी केशर पौड्याल
सनातनी धर्म संस्कृति अनुसार बेलाबेलामा मनाईने चाड पर्वहरूले खुसी र उमङ्ग मात्र दिने होईनन्, आपसी आत्मियतालाई पनि बढाउने काम गरिरहेको हुन्छ । त्यस्तै पर्वहरुमध्ये कुसे औँसी, गोकर्णे औँसी वा बाबुको मुख हेर्ने आदि नामले परिचित यो पर्व पनि एक हो ।
यसको पनि धेरै ठूलो शास्त्रीय महत्व रहेको पाइन्छ । यो दिन मृत पितालाई सम्मान गर्ने दिनमात्र नभएर जीवनकालमा आफ्ना जन्मदातालाई भक्तिपूर्वक आदर सत्कार गर्ने दिनका रूपमा पनि लिईन्छ । आफ्ना बाबुको श्रद्धामान हेरचाह गर्नुपर्ने कुरालाई यस पर्वले हामीलाई सन्देश दिएको छ । छोराछोरी दुवैले आफ्ना पिताप्रति श्रद्धाभाव प्रकट गर्छन् । पारिवारिक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने यस पर्वले हाम्रो सांस्कृतिक, गौरवमय, धार्मिक एवम् पैतृक परम्परालाई सुदृढ बनाउन ठूलो योगदान पुर्याएको छ।
कुसे औँसीका दिन हिन्दू धर्मावलम्बीहरू वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी ,पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ–आफ्ना पितालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।
विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ–आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ । ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलहरूमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने कुरा धर्मग्रन्थहरुमा उल्लेख छ ।
एकपटक भगवान श्री महादेव कसैले थाहा नपाउने गरी पशुपतिको जङ्गलमा एक सिङ भएको स्वर्णमृग रूप धारण गरी अहिलेको मृगस्थली जङ्गल घुम्न थाल्नु भएछ । भगवान शिवको अनुस्थितिले विष्णु, ब्रह्मा, ईन्द्र लगायत् सम्पूर्ण देवि देवता निराश हुनुभएछ । यो देखेर जगदम्बा भवानीले महादेवले मृग रूप धारण गरेर वन विहार गरेको रहस्य बताइदिनुभयो । तब ब्रह्मा, विष्णु ईन्द्रले एकैपटक त्यस मृगलाई समात्नुभयो। संयोगवश एकैपटक मृगको उक्त सिङ तीन टुक्रा भयो। यो देखेर सबै देवता आश्चर्यमा परे र क्षमा माग्न थाले । तत्पश्चात् शिवजीले आफ्नो स्वरूपमा प्रकट भएर देवताहरुलाई भन्नुभयो–‘तपाईंहरुले कुनै प्रकारको चिन्ता लिनुपर्दैन । मेरा सिङका तीन टुक्रा विष्णुको हातमा रहेको वैकुण्ठधाममा, ईन्द्रका हातमा परेको अमरावतीमा र ब्रह्माको हातमा रहेको नेपालको वाग्मती नदीको पवित्र तट गोकर्णमा स्थापना गर्नु ।’
महादेवकै कथानुसार ब्रह्माजीले गोकर्ण तटमा उक्त सिङ स्थापना गर्नुभयो । यसरी ब्रह्माजीले स्थापना गरेको त्यही मृगको अवशेष पवित्र शिवलिङ्गका रूपमा गोकर्णेश्वर महादेवका नामले र उत्तर गयाको नामले चिनिन्छ। हाम्रा यस्ताखाले शास्त्रका मान्यताहरूलाई विभिन्न रूपमा विदेशीहरूले समेत अनुशरण गरेको पाइन्छ । तर हामी भने विदेशीका राम्रा कुराका भन्दा नराम्रा कुराहरुको नक्कल गर्नतिर लागेर न नेपाली रहन सक्यौँ, न त विदेशी नै हुन सक्यौँ । नागरिकता मात्र नेपाली छ, पन–मन पनि नेपाली नै हुनु पर्ने हैन र ?
तर, हाम्रौ कारणले पछिल्लो समय कुसे औँशीले आधुनिकताको नाममा आफ्नो मौलिकता गुमाउँदैछ । ‘ह्यापी फादर्स डे’ भन्दै अरू दिन मतलब नगर्नेहरूले समेत सामाजिक सञ्जालमा एकदिन बाबुको फोटो पोस्ट गर्ने ‘फेशन’ नबनोस् कुसेऔँसी ।