काठमाडौं-निर्वाचन आयोगले राजनीतिक दलहरुसँग राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको छ । दलहरुले आयोगलाई यस्तो पत्र बुधबारभित्र बुझाइसक्नुपर्ने छ ।


ADVERTISEMENT


आयोगले सोमबार सूचना जारी गर्दै दस्तखतको नमूना पेस गर्न दलहरुलाई आग्रह गरेको हो । आयोगले उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न दलहरुलाई माघ ३ गतेसम्मको समय दिएको छ ।


ADVERTISEMENT

# # #


यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा २१ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार, मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले अख्तियारी दिएको व्यक्ति निर्वाचन आयोगमा अद्यावधिक गरिएको दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी हुनुपर्नेछ ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने छ ।

मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले एक वा त्योभन्दा बढी संख्यामा पदाधिकारी तोक्न सक्नेछ । तर, एकभन्दा बढी संख्यामा पदाधिकारी तोक्दा आयोगले निर्धारण गरेको ढाँचामा औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको क्षेत्र (प्रदेश) समेत खुलाई छुट्टा–छुट्टै फाराम आयोगमा पेश गर्नुपर्ने छ ।

दस्तखत नमूना फारम वेबसाइट र आयोगबाट लिन सकिने जनाइएको छ ।