नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं ५ को प्रदेश सभा (क) का नवनिर्वाचित सांसद हिक्मत कार्कीसंग हिमालय पोष्टले गरेको विशेष कुराकानी : –

 

निर्वाचनको मतपरिणाम आएको पनि एक महिना भइसकेको छ । तर पनि सरकार निर्माणको प्रक्रिया अझै सुरु भएको छैन । राजनीति एक किसिमले गोलमोटोल जस्तो देखिन्छ । अब निकास कसरी निस्किन्छ ?


ADVERTISEMENT


नेपाली जनताका प्रतिनिधिबाट हामीले संविधान निर्माण गर्‍यौँ । संविधान कार्यान्वयनको लागि अन्तिम चरणका रुपमा रहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हामीले सम्पन्न गर्‍यौँ । मतपरिणाम आएको पनि एक महिना भएसकेको छ । यो अवधिमा हामीले धेरै कामहरु गरिसक्नु पर्ने थियो । तर हुन सकिरहेको छैन । हामी निर्वाचन परिणामलाई औपचारिक गर्ने कि नगर्ने, कहिले हुन्छ भनेर पर्खाईमा छौँ, यो बिडम्बना हो । यसमा दुईटा कारणले रोकिएको छ । एउटा हाम्रो संविधानको गलत व्याख्या गर्ने क्रम सुरु भएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुन्छ । हाम्रो संविधानको व्याख्या गर्ने संवैधानिक अधिकार सर्वोच्चलाई भएपनि यहाँ निर्वाचन आयोगका प्रमुखले पनि संविधानको व्याख्या गरिराख्नु भएको छ । नेपाली कांग्रेसका नेताहरुले पनि संविधानको व्याख्या गरिराख्नु भएको छ । प्रधानमन्त्री र कतिपय वकिलहरु पनि यसको व्याख्या गर्दै हुनुहुन्छ । यही गलत कार्यले गर्दा हामी केही डेडलकको अवस्थामा छौँ ।


ADVERTISEMENT

# # #


अर्को कुरा नेपाली कांग्रेस नेपालको राजनीतिमा एउटा यस्तो शक्ति हो, ऊ आफुलाई देशको पूरानो, लोकतान्त्रिक आन्दोलनको एउटा अग्रणी पार्टी ठान्छ । ऊ पुरानो पार्टी होला । विगतमा केहि ऐतिहासिक योगदान पनि होलान् । भोलि पनि उसले केहि योगदान देला । तर नेपाली कांग्रेसले जुन दाबी गरिरहेको छ । त्यसलाई नेपाली जनताले दाबी सत्य छैन भनेर पुष्टि गरिसककेका छन् । तर कांग्रेस आफ्नो पराजयलाई स्वीकार गर्न चाहदैन । त्यस कारण आलटाल गरिरहेको छ ।

यस कारण पनि नेपालको राजनीति केही ठाउँमा अड्किएको जस्तो देखिन्छ । यी सबै कुराहरुलाई चिरेर केही दिन भित्र नै यसलाई हामी निकासमा पूर्याउँदैछौँ । ढिलै भएपनि राष्ट्रिय सभाको निर्वाचन भएपछि यी कुराहरु टुंगिन्छन् । त्यसपछि नेपालको राजनीति एउटा नयाँ कोर्सबाट अगाडि बढ्छ । अर्को महत्वपूर्ण कुरा भनेको संघियता कार्यान्वयनको लागि दुई वटा बाटोहरु खोल्न आवश्यक छ । त्यो भनेको एउटा प्रदेश प्रमुख र अर्को भनेको प्रदेश अस्थायी राजधानी । सरकारले यसमा ढिलाई गरेको छ । यो पनि केहीदिन भित्र नै टुंगामा पुग्छ ।

निर्वाचन अघि एमाले र माओवादीबीच जुन किसिमको गठबन्धन भएको थियो । त्यही अनुसार नै पार्टी एकता पनि हुनसक्छ ? माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेसले पाँच वर्ष सरकार चलाउन अफर गरिरहेको छ । यसले अन्योलताको वातावरण सिर्जना गरेको जस्तो देखिन्छ । अब वाम गठबन्धनको यात्रा कुन रुपमा अगाडि बढ्छ ?

यसको लागि हाम्रो पार्टीको दुईवटा निर्देशन छ । एउटा पार्टी अध्यक्षले भर्खरै बोल्नु भएको छ कि १५ दिनभित्र एकता प्रक्रिया औपचारिक रुपमा टुंगिन्छ भनेर । अर्को हाम्रो पार्टीले एकताका विपक्षमा नबोल्न पनि दुईवटै पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । त्यसलाई हामीले निर्देशनको रुपमा पालना गरेका छौँ । यो दुईवटा पार्टीको नेता कार्यकर्ता, दुईवटा पार्टीको केन्द्रीय समिति बीचको एकता मात्र होइन । यो नेपाली जनताको जनादेश र समर्थन सहितको एकता भएकाले यसबाट कोहि पनि उम्किन सक्दैन । एकता हुनै पर्छ । केपी ओली, प्रचण्ड वा हामीहरुलाई चित्त नबुझेपनि एकता हुन्छ र यसको स्वामित्व नेपाली जनताले लिन्छन् । त्यस कारण यसबाट पर भाग्ने सम्भावना कसैको छैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी अन्य दलबाट उक्साउने काम पनि भइराखेको छ । तर यसमा प्रचण्ड जानुहुन्न । एकता जसरी पनि हुन्छ । अब वाम गठबन्धनकै सरकार बन्छ र त्यसको नेतृत्व केपी ओलीले नै गर्ने कुरामा कुनै द्विविधा छैन । यसमा कसैले ललिपप देखाएर गठबन्धन टुटाउन सक्दैन ।

तर यसका लागि त तपाईहरुका नेताहरुको व्यवस्थापन गर्नु पर्ला । फेरि तपाईहरुले पार्टी अध्यक्ष पनि प्रधानमन्त्री पनि केपी ओली हुने कुरा गरिरहनु भएको छ । यसमा माओवादीले मान्ला त ?

हो, वाम एकताका लागि दुईवटा कुरा समस्याका रुपमा देखिएका छन् । नेपालको राजनीतिमा महत्वपूर्ण कुरा भनेको नेताहरुको व्यवस्थापन हो । हिजो नेताहरुकै व्यवस्थापनका कारण एमाले फुट्यो । नेताहरुको व्यवस्थापनकै कारण कांग्रेस फुट्यो । कतिपय व्यक्तिको आकांक्षा पार्टीले पूरा गरेन भने उसले पार्टी फुटाइदिन सक्छ । त्यस कारण यो चुनौतिपूर्ण कुरा हो । तर यो कुरा हामी टुंग्याउँछौँ । कुन पदमा को रहने भन्ने कुरा हाम्रो राष्ट्रिय महाधिवेशनले फैसला गर्छ । अहिलेलाई कम्रेड केपी ओली र कम्रेड प्रचण्डको सह–नेतृत्वमा पार्टी चल्छ ।

अर्को चुनौतीको कुरा भनेको पार्टी सिद्धान्त हो । पार्टीले कुन सिद्धान्त अंगाल्ने भन्ने हो । माओवादीको जनवाद के हुने, एमालेको जबज (जनताको बहुदलीय जनवाद) के हुने ? भन्ने खालका प्रश्नहरु उठिरहेका छन् । विचार भन्ने कुरा रातारात बन्ने कुरा होइन । यो त सिद्धान्तले खारिएर व्यवहारको कसीमा नयाँ विचार र सिद्धान्त बन्ने गर्छ । मलाई के लाग्छ भने नेकपा माओवादी युद्धबाट आएको पार्टी हो । उसले युद्धको समयमा प्रचण्डपथ अवलम्बन गर्‍यो । पछिल्लो समय उसले जनवाद भनिरहेको छ । तर यो जनवादले बोकेका मूलभूत कुराहरु बहुदलीय जनवादले २०४६ सालमै स्पष्ट गरिसकेका कुराहरु हुन् ।

हिजो मदन भण्डारीले जबजको सिद्धान्तलाई प्रवेश गराउँदा पहिलो पटक बहुदलीय प्रतिस्पर्धालाई आत्मसाथ गरिएको थियो । यो विश्व इतिहासमा नयाँ घटना हो । जबजलाई हामीले पहिले क्रान्तिको, परिवर्तनको कार्यक्रमका रुपमा लिएका थियौँ । तर त्यसलाई छैटौं महाधिवेशनमा सिद्धान्तको रुपमा विकास गर्‍यौँ । यसलाई कम्युनिस्ट मात्र होइन सबै पार्टीले मार्गदर्शनको रुपमा लिनसक्नु पर्छ ।

यदि कसैले जबजभन्दा राम्रो सिद्धान्त लिएर आउँछ भने त्यसलाई हामीले स्वीकार गर्न कुनै अप्ठ्यारो मान्नु हुँदैन । यदि छैन भने बहुदलीय प्रतिस्पर्धाको सिद्धान्तलाई नेपाली कांग्रेसले पनि स्वीकार गर्न कुनै अप्ठ्यारो छैन । समाजवादको सिद्धान्तलाई पनि जबजले अगुवाई गर्न सक्ने भएकाले यसलाई अंगाल्न हिच्किचाउनुपर्ने कुनै कारण छैन ।

निर्वाचन अघि वाम गठबन्धनले विकास र समृद्धिका एजेण्डा ल्याएको थियो । त्यहि अनुसार जनताले पनि अनुमोदन गरेका छन् । यी एजेण्डा कार्यान्वयनको तहमा पुगेको हेर्ने जनताको ईच्छा पुरा होला ?

हामीले जुन चुनावी मुद्दा उठाएका छौँ । घोषणापत्रमा जे कुरा उल्लेख गरेका छौँ र नेपालको विकास र समृद्धिको विषयमा जुन कुराहरु केपी ओली प्रधानमन्त्री हुँदा उहाँले उठाउनु भएको थियो । ती कुराहरु नै अबको हाम्रो बाटो हो । तिनै कुराहरुलाई हामीले आधार बनाएर हामीले हाम्रा उम्मेदवार जनता माझ लगेका थियौँ । त्यसलाई नेपाली जनताले अनुमोदन गरेर पठाएका छन् । अब यो पाँच वर्ष वाम गठबन्धनको रुपमा केपी ओलीको नेतृत्व अगाडि बढ्छ । नेपालको विकास र समृद्धिका लागि घोषणापत्रमा हामीले जे कुरा उल्लेख गरेका छौँ । ती कुराहरुलाई यो पाँच वर्षको अवधीमा हामी केपी ओलीको नेतृत्वमा बन्ने सरकारको माध्यमबाट पुरा गर्छौँ। हामीले नेपालको विकासका लागि २५ वर्षको समय किटान गरेका छौँ । त्यसमा पहिलो चरणमा हामी राष्ट्रिय आवश्यकताका संरचनाहरु ( विकासका भौतिक पूर्वाधारहरु ) तयार पार्छौँ। त्यस पछिको समयमा अन्य विकासका कामहरुलाई तीव्र गतिमा अगाडि बढाएर नेपाललाई एउटा समुन्नत राष्ट्रको हैसियतमा पूर्याउछौँ ।

यसका लागि अन्तराष्ट्रिय सहयोगको पनि आवश्यकता पर्ला । छिमेकीहरुसंगको सम्बन्धलाई सन्तुलित बनाएर कसरी सहयोग लिने भन्ने कुराहरु पनि होलान् । कुटनीतिक व्यवस्थापन कसरी हुन्छ ?

यो बडो सजिलो विषय हो । पञ्चशीलको सिद्धान्तको आधारमा हाम्रो अन्तराष्ट्रिय सम्बन्धको विकास र निरन्तरता हुन्छ । यो नेपालको स्थापित मान्यता हो । यो कुरामा नेकपा एमाले प्रतिवद्ध रहन्छ । खासगरी हाम्रा मित्र राष्ट्रहरु उत्तरतर्फको विश्वको दोस्रो ठूलो आर्थिक शक्ति भएको मूलुक र अर्को दक्षिणतर्फ विश्वको भीमकाय मूलुक भारतसंग हामी समदूरीको सम्बन्ध कायम गर्छौँ । हामी हाम्रा नीति तथा कार्यक्रमले दुबै देशलाई कुनै पनि असर पार्दैनौँ । दुईवटै छिमेकी मूलुकबाट उत्तिकै लाभ लिएर यो मूलुकलाई विकसित बनाउन लाग्छौँ । त्यस कारण हामीलाई दुईवटै देशको सहयोगको उत्तिकै आवश्यकता पर्छ ।

जहाँसम्म एमाले चीनतिर ढल्कियो भन्ने कुरा छ । यो सत्य होइन । भारतसंग पनि हामी उत्तिकै सम्बन्ध विस्तार गर्न चाहन्छौ, जती चीनसंग गर्छौँ । त्यस कारण कुनै एउटा मूलुकतिर बढी ढल्किने भन्ने कुरा हुँदैन । यसमा सबैले बुझ्नुपर्ने कुरा भनेको नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र मूलुक हो । यसको अस्तित्व सबैले स्वीकार्नु पर्छ । हामी यही अनुसार अघि बढ्छौँ । यसमा सबैले बुझ्नुपर्ने अर्को कुरा भनेको नेपालमा बजेटको अभावका कारण विकास नभएको हैन । नेतृत्वमा विकासको चाहना नभएर हो । नेतृत्वसंग देश विकासको सपना हुनुपर्यो अनि मात्र समृद्ध मूलुकको सम्भावना हुन्छ । यही कार्यान्वयनका लागि भनेर नै हामी आएका छौँ ।

अब प्रदेश नम्बर एकमा  फर्किउ । तपाई प्रदेशसभाको सदस्य पनि हुनुहुन्छ । १ नम्बर प्रदेशलाई कामको पनि पहिलो नै बनाउछौं भन्नुभएको थियो । यस्का लागि त गृहकार्य पनि अघि बढ्यो होला नि ?

अब यसको औपचारिक प्रक्रिया त सुरु भएको छैन । किनभने हामीले माथि नै कुरा गर्यौं । सरकार निर्माणको प्रक्रिया सुरु भएको छैन । प्रदेश नंं एकमा पनि वाम गठबन्धनको बहुमत भएकाले हामी सरकार निर्माण गर्छौं । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नैपालको सबैभन्दा होचो केचना पनि हामीसंग छ । कञ्चनजंघा हिमालदेखि कोशी ब्यारेजपनि यहाँ नै पर्छन् । त्यसकारण हामी प्राकृतिक साधानस्रोतमा एकदमै धनी छौँ । पर्यटन, जल विद्युत, कृषि लगायतका विभिन्न सम्भावना बोकेको प्रदेश नंं एकमा विकासका लागि चाहिने आधारहरु सबै छन् । त्यसको सही र समुचित ढंगले प्रयोग गरियो भने नामको मात्र नभई कामको पनि एक नम्बर बन्ने मेरो दाबी छँदैछ । अहिले हामीहरुले यसको विकासका निम्ती केही खाकाहरु तयार पारेका छौँ । यसको गुरु योजना निर्माणको क्रममा छौँ । सरकार निर्माणपछि हामी ती कुराहरुलाई अगाडि बढाउँछौँ ।

यसका लागि नेतृत्व तहमा जानु पनि पर्ला । सरकार निर्माणको प्रक्रियासंगै कसले नेतृत्व गर्ने भन्ने कुरा पनि छ । मुख्यमन्त्रीको रुपमा तपाईको नाम पनि चर्चामा आइराखेको छ । यसमा तपाईको भनाई के छ ?

म नेकपा एमालेको एउटा छानिएको प्रतिनिधि पनि हुँ । मसंगै धेरै योग्य नेताहरु छानिनु भएको छ । पार्टी स्थायी कमिटीका साथीहरु, केन्द्रिय समितिका साथीहरु, पोलिटब्युरो साथीहरु पनि छानिएका छौँ । हामीले सामुहिक प्रतिवद्धता गर्‍यौँ भने विकास निर्माणको काम सम्भव छ ।

मुख्यमन्त्रीका लागि हामी छलफल गरेर एउटा सहमतीका आधारमा चयन गर्छौँ । यदि पार्टीले, संसदीय दलले मलाई जिम्मेवारी दियो भने म त्यो गर्न सक्छु भनेर आफूलाई मुख्यमन्त्रीको रुपमा तयार पारेको छु ।

तर म यही मात्र भए काम गर्छु नत्र भने गर्दिन भन्ने कुरा छैन । पार्टीको म नेता हुँ । एउटा जनप्रतिनिधि हुँ । जिम्मेवारी आइपरे त्यसको सफलतापूर्वक निर्वाह गर्न सक्षम पनि छु ।

अन्त्यमा, प्रदेश नंं एकले हिमाल, पहाड र तराईलाई समेटेको छ । प्रशासनिक केन्द्रको पनि टुंगो लगाउनु पर्नेछ । सबैले आफ्नो ठाउँमा राजधानी हुनुपर्ने माग गरिरहेका छन् । तीनवटै क्षेत्रका जनताको भावनालाई समेटेर निर्णयहरु हुन्छन् ?

करिब ४६ लाख जनसंख्या रहेको प्रदेश नंं एकमा १४ वटा जिल्लाहरु छन् । हिमालमा बस्ने हिमाली जनजातीहरु देखि तराईमा बस्ने थारु समुदायहरु सबैको समिश्रण भएको ठाउँ भएकाले सबैको भावना समेट्नु जरुरी हुन्छ । भौगोलिक हिसाबले पनि यो अनुपम प्रदेश हो । सबैको भावना समेटेर नै यहाँको विकास निर्माणका कार्यहरु सुरु हुनेछन् । सबैको भावनाको प्रतिनिधित्व हुन्छ । अब प्रदेश राजधानीको कुरा छ । आफ्नो ठाउँमा हुनुपर्छ भनेर दाबी गर्ने कुरा त सबैको अधिकार हो । तर हामीले छलफलका आधारमा सबैको सहज पहुँच पुग्नेगरी तोकिनु पर्छ । धनकुटा, धरान, इटहरी वा विराटनगर जहाँ भएपनि सबैले स्वीकार गरेर जानुपर्छ । मुख्य कुरा विकास र समृद्धिको हाम्रो अर्जुनदृष्टिमा सबैको एकसाथ निशाना हुनुपर्छ ।