काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले खेरगइरहेको सार्वजनिक जग्गाको उपयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।


ADVERTISEMENT


उपराष्ट्रपति पुनले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्पमेला प्रदर्शनी’ को उद्घाटन गर्दै सो आग्रह गरेका हुन् ।उनले क्षेत्र पहिचानका आधारमा कुनै एक क्षेत्रलाई पुष्पखेतीको पकेट क्षेत्रका रुपमा विकास गरी पुष्प आयात प्रतिस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि विसं २०५७ र २०७० मा अन्तर्राष्ट्रिय पुष्प मेला भइसकेका छन् । यसवर्ष आजदेखि सुरु भएको पुष्पमेला चैत २० गतेसम्म सञ्चालन हुने र मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता रहेको छ ।

‘शान्ति समृद्धि तथा स्वच्छ वातावरणकोे लागि पुष्प व्यवसाय’ नाराका साथ सुरु भएको मेलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश छन् । मेला कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनमा भएको हो ।कार्यक्रममा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले क्रमशः कृषिको परनिर्भरता कम गर्ने बताए ।

मेलामा ४५० मौसमी पूmल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीको प्रदर्शनी छ ।एसोसिएसनले मेला अवधिभर ६५ हजार अवलोकनकर्ता तथा रु ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरेको छ ।

नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय आर्थिक वर्ष २०७२÷७३ सम्म पुग्दा ३९ जिल्लामा विस्तार भएको छ । करिब ६७८ पुष्प व्यवसाय व्यावसायिक रुपमा अगाडि बढेका छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्पखेतीबाट लाभान्वित भएका छन् ।

नेपालले पुष्पखेती व्यावसायिक ढङ्गले सुरुवात गरेको झन्डै २३ वर्ष पुगिसकेको छ । तर आत्मनिर्भर भएको छैन । यहाँ विभिन्न जातका पुष्प भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेविया, इटालीलगायतका मुलुकबाट आयात भइरहेको छ ।

बजारमा पुष्पको माग बढेको छ । आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन । हाल नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिने सम्भावना छ ।