सोलुखुम्बु– सोलु दूधकुण्ड नगरपालिकामा समाहित हुने आफूहरुको माग विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै सोलुखुम्बुको साविकको तिङ्ला गाविसका बासिन्दाले गरेको सडक बन्द छ दिनपछि आज बिहानबाट सञ्चालन भएको छ ।


ADVERTISEMENT


तिङ्लावासीले आफूहरुलाई सोलु दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने वा स्वायत्त तिङ्ला गाउँपालिका घोषणा गर्नुपर्ने माग राख्दै गएको शुक्रबारदेखि सोलु–ओखलढुङ्गा सडकअन्तर्गत तिङ्ला खण्डको सडक पूर्णरुपमा अवरुद्ध गरेका थिए । ठाउँठाउँमा रुख ढाल्नुका साथै ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेपछि एम्बुलेन्ससमेत अवरुद्ध भएको थियो ।


ADVERTISEMENT

# # #


बन्दकर्ताको चौतर्फी विरोधपछि जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा बुधबार भएको वार्तामा उनीहरुको माग केन्द्रमा पठाउने सहमतिपछि तिङ्लामा भएको बन्दकर्ताको छलफलले अब आन्दोलन काठमाडौँ केन्द्रित गर्ने भन्दै स्थानीयस्तरमा भइरहेको आन्दोलन फिर्ता लिएको हो ।

बन्द फिर्ता भएपछि आज बिहानैबाट यातायातका साधन गन्तव्यतर्फ जान थालेका सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिए ।