काठमाडौं-देशका विभिन्न स्थानमा प्रदेश राजधानीको माग गर्दै सर्वसाधारणहरु विरोधमा उत्रिएका छन् । प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाइनुपर्ने माग गर्दै धनकुटावासीले आमहडताल नै सुरु गरेका छन् । यस्तै १ कै राजधानी बनाइपुपर्ने माग धरानको पनि छ । धरानवासीको मागलाई उपमहानगरपालीकाका प्रतिनिधिले कुटनीतिक तवरबाट उठाइरहेका छन् । प्रदेश ५ को राजधानी बनाइनुपर्ने मागसहित आज रुपन्देहीमा पनि प्रदर्शन भएको छ ।


ADVERTISEMENT


धनकुटामा आमहडताल जारी


ADVERTISEMENT

# # #


प्रादेशिक राजधानी माग गर्दै धनकुटामा दुई दिनदेखि जारी आमहड्तालले त्यहॉको जनजीवन थप प्रभावित बन्दै गएको छ।

प्रदेश नं.१ को राजधानी माग गर्दै एक महिनादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आन्दोलनलाई थप सशक्त पार्दै गएका छन्। यसैक्रममा हिजोदेखि आमहडताल आव्हान गरिएको हो। बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड ठप्प रहेको छ ।

मोटरसाइकल समेत चल्न दिइएको छैन । बिहानैदेखि बन्दकर्ताहरुले धनकुटाको जीरो प्वाइन्ट र आत्मारा ढाट लगायतका स्थानमा प्रदर्शन थालेका छन् ।

राजधानीकालागि लविङ तिव्र पार्दै धरानका प्रतिनिधि

धरानलाई प्रदेश १ को राजधानीकालागि पुर्वका विभिन्न ठाउँमा खिचातानी, बन्द हड्ताल र तोडफोड भइरहेको बेला धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीको नेतृत्वमा काठमाडौं पुगेको सर्वदलीय सर्वपक्षीय प्रतिनिधी मण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै राजधानीकालागि सर्वदलीय सहमति खोज्न माग गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालई प्रधानमन्त्री निवास बालुटारमा भेटी धरानका प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । प्रतिनिधि मण्डल र प्रम देउवावीच एक घण्टासम्म भएको छलफलमा राजधानीकालागि धरानको भौतिक पुर्वाधार, पर्यावरण, एतिहासिकता, पहिचान, प्रदेशवासी नागरिकको सहज आवगमन र तत्काल कार्यालयहरु सन्चालनको लासग सुविधा सम्पन्न सुरक्षित भवनहरु रहेको विषयमा विस्तृत आधारहरु प्रस्तुत गरेको उपप्रमुख भण्डारीले बताइन् । उनले धरानलाई राजधानी घोषणा नगरेसम्म प्रतिनिधि मण्डल धरान नफर्कने बताइन् ।

प्रदेश राजधानी माग गर्दै विरोध

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा हुनपर्ने माग गर्दै रुपन्देहीमा आन्दोलन तथा विरोधका कार्यक्रम सुरु भएका छन् ।

राजनीतिक दल र तिनका विद्यार्थी संगठनले विरोधका कार्यक्रम सुरु गरेका हुन् । दाङमा प्रदेश राजधानी तोक्ने प्रस्ताव विरुद्ध नेपाली कांग्रेसले आज बुटवलमा एक घण्टा चक्काजाम गरेको छ । बिहान ९ बजेदेखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गको पुष्पलाल पार्कमा चक्काजाम गरेको हो ।

चक्काजामका कारण विद्यार्थी तथा यात्रुहरुले सास्ती व्यहोरेका थिए । यस्तै दाड. प्रदेश राजधानी तोक्न लागेको विरोधमा हिजो साझ अनेरास्ववीयुले मसाल जुलुस निकालेको थियो। बुटवलको बहुमुखी कयाम्पसबाट निकालेको जुलुस ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो। जनसंख्या र पूर्वाधारका हिसावले रुपन्देहीमा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै रुपन्देहीका उद्योगी व्यवसायीहरुले पनि विरोधका कार्यक्रम सुरु गरेका छन्।