दमक– नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने औँल्याएका छन् ।


ADVERTISEMENT


झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे । “आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्” नेता नेम्बाङले भने ।

राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो । उनले भने “नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।”

इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राखे । निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा गर्दै नेम्बाङले भने “त्यसले छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशंका गर्न आवश्यक छैन ।”