नेकपा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल मोरङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक समेत भइसकेका ढकाल पार्टीमा एक प्रभावशाली नेताका रुपमा चिनिन्छन् । वर्तमान राजनीतिका बारेमा उनै ढकालसंग हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


प्रदेश र प्रतिनिधिसभाका दुईवटै निर्वाचन सम्पन्न भएर मतपरिणाम पनि आइसक्दा सरकार बन्ने बाटो पनि खुलेको छ । तपाई आफू पनि प्रतिनिधिसभातर्फ निर्वाचित हुनुभएको छ । यो बीचमा कस्तो रह्यो अनुभव  ?


ADVERTISEMENT

# # #


यस पटकको निर्वाचनमा इतिहासमा पहिलो पटक हामीले वाम गठबन्धनलाई सरकार चलाउने गरी मत दिनुस् राष्ट्रलाई विकास र समृद्धि हामी दिन्छौँ भनेर भनेका थियौँ । जनताहरुले अगाध माया दिनुभयो । निर्वाचन अघि हामीले बोलेका कुराहरुको कार्यान्वयन गर्ने दायित्व जनताले हाम्रो काँधमा राखिदिनुभएको छ । बहुत जिम्मेवार र गह्रुंगो भएर आइएको छ ।

तपाईलाई मोरङ क्षेत्र नं ३ का जनताले के को लागि निर्वाचित गरेजस्तो लाग्छ ? अब कसरी अगाडि जानुहुन्छ ?

अहिले आम रुपमा हामीले विकास र समृद्धिकै कुरा उठायौँ । निर्वाचनको परिणाम आएपछि विजय उत्सव मनाउने क्रममा धेरैका शुभेच्छा हामीले प्राप्त गर्यौँ । मुलतः मेरो निर्वाचन क्षेत्रमा सुकुम्बासीको समस्या, नदीको कटानको समस्या र आदीवासी जनजातीको प्रतिष्ठान बनाएर विविधता भित्रको राष्ट्रिय एकता कायम गर्ने भन्ने एजेण्डा उठाएको छु । पूर्वाञ्चल विश्वविद्यालयलाई हामीले नयाँ जीवन दिने कुरा उठाएका छौँ । बेलबारीमा पेट्रोल खानी भएकोले त्यसको अझै अध्ययन गरेर प्रशोधन र प्रयोगमा ल्याउने यी पाँच वटा कुरा स्थानीय तहमा उठाएका छौँ । अरु वाम गठबन्धनको घोषणापत्रमा जारी भएका र स्थानीय तहको निर्वाचनको बेला एमाले माओवादीले प्रस्तुत गरेका विकास निमार्णका कुराहरु नै हामी अगाडी बढाउँछौँ । त्यसैले आम रुपमा जनताले विकास र समृद्धिको अपेक्षा गरेकाले त्यसको लागि काम गर्नुपर्छ ।

पाँच वर्षसम्म जनताले एउटा इमान्दार सेवक पाउनुभएको छ । प्रत्येक महिनामा म मेरो निर्वाचन क्षेत्रमा विशेष कार्यक्रम लिएर जानेछु । जहाँ जान्छु त्यही वडामा वास बस्नेगरी कम्तीमा एक महिनामा एक वडामा जाने योजनामा छु । त्यहाँ गएर जनताका भावना, इच्छा आकांक्षालाई प्रतिनिधित्व गरेर काम अगाडि बढाउने मनसायमा म छु । यस पटकको निर्वाचन सामान्य पाँच वर्षको औपचारिकता पूरागर्ने निर्वाचन होइन । अब जनताको मतबाट नेपाल नयाँ युगमा प्रवेश गरेको छ । त्यो भनेको विकास र समृद्धिको युग हो । अब सरकार बनेपछि हाम्रा एजेण्डा के हुन भनेर जनताले अनुभूत गर्दै जान्छन् । रोजगारीको कुरामा ५/५ वर्ष समय राखेर हामीले तीन वटा लक्ष्य बनाएका छौँ । पहिलो समय कुरा स्वास्नी, छोराछारी छाडेर अरब जानुपर्ने बाध्यताको अन्त्य गर्ने, दोस्रो अरबमा भएका नेपालीलाई नेपाल फिर्ता गर्ने, तेस्रो विदेशी नागरिकलाई कामदारका रुपमा नेपाल ल्याउने योजनाकासाथ हामी काम गर्छौँ । अबको १०-१५ वर्षमा नेपाललाई एउटा समुन्नत राष्ट्रको हैसियतमा पुर्याउने गरी योजना बनाएका छौँ ।

तपाईले यी कुरा गरिरहँदा केही दिनको राजनीतिक उतारचढावले त अझै अस्थिरता जारी रहने हो कि भन्ने शंका उत्पन्न भएको छ । अबको पाँच वर्षसम्म वामपन्थीहरुले सरकारको नेतृत्व गर्ने अवस्था छ ?

यसमा नि:सन्देह छ । अहिले मान्छेहरुलाई विभिन्न आशंकाहरु छन् । दुईवटा कुरामा सबै सुनिश्चित हुनु आवश्यक छ । पहिलो कम्युनिस्ट पार्टीहरुको एकता भएर एउटै पार्टी निर्माण हुन्छ । यसमा कुनै दुविधा छैन । कम्युनिस्ट पार्टी एउटै बनाउने, पाँच वर्ष स्थायी सरकार चलाउने भनेर जनतामाझ गएको, घोषणापत्र समेत संयुक्त आइसकेकोले यसका कुनै शंका छैन । अहिले प्राविधिक कारणले हामी वाम गठबन्धनका रुपमा आयौँ । पाँच वर्षपछिको निर्वाचनमा एउटै पार्टी र एउटै निर्वाचन चिन्ह लिएर आउँछौँ । अहिलेको निर्वाचनको जनमत पनि कम्युनिस्ट पार्टी एक हुनकै लागि प्राप्त भएको हो । त्यस कारण जनमतको विपक्षमा जाने अनुमती कम्युनिस्ट पार्टीका कुनै नेता कार्यकर्तालाई छैन । अर्को यो माओवादी र एमाले मिलेर सरकार बन्ने होइन । चुनावमा एउटै घोषणापत्र बनाएर चुनाव लडेको हुनाले पार्टी प्राविधिक कारणले दुईवटा भएपनि एउटै पार्टीको रुपमा सरकार पाँच वर्षसम्म रहन्छ । त्यसले गर्दा कुनै राजनीतिक अस्थिरताको गुञ्जायस छैन । अब नेपालमा राजनीतिक अस्थिरताको समय सकियो ।

राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्बन्त्री अध्यादेश प्रमाणिकरण गरेसंगै सरकार निर्माणको बाटो पनि खुला भएको छ । सरकार निर्माणको पक्रिया अगाडि बढाउँदै गर्दा मन्त्रीमा तपाईको नामपनि चर्चामा छ । यसको बारेमा बताइदिनुस् न ।

आम जनताले भोट हाल्ने क्रममा मोङको जुन क्षेत्रबाट म लडेँ ।  त्यो ४८ सालदेखि अहिलेसम्म लालकिल्लाकै अखडा मानिएको क्षेत्र हो । जनताले त्यहाँबाट मलाई निर्वाचित गर्नुभएको छ । केन्द्रमा सांसदको खाली भोट हाल्ने काम मात्रै भयो । यसपटक त्यो भन्दा पृथक खालको अनुभूति होस् भन्ने माग त्यहाँका जनताको छ । मन्त्री बन्ने, नबन्ने, बनाउने, नबनाउने त्यो दलको कुरा हो । म यो कुरा राम्ररी बुझ्छु । योग्यता र परम्पराको हिसाबले हेर्ने हो भने एमालेभित्रको अग्राधिकार मसंग सुरक्षित नै छ । पार्टीको प्रमुख सचेतक भइसकेपछि मन्त्री हुने परम्परा म आएपछि नतोडिएला भनेर अपेक्षा राख्ने कुरा कुनै अप्ठ्यारो भएन । तर पार्टीले त्यो भन्दा पनि अरु नै जिम्मेवारी महत्वपूर्ण हो भन्यो भने दलीय व्यवस्थामा त्यसमा मन खुम्च्याइरहनु पर्ने कारण पनि छैन ।

अन्त्यमा, संवैधानिक व्यवस्था अनुसार सरकार निर्माणको मिति पनि विस्तारै घुर्किँदैछ । अब जनताले नयाँ सरकार कहिलेसम्ममा पाउँछन् ?

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएपछि सार्वजनिक हुन्छ र त्यसपछि संसदको पूर्णता हुन्छ । अनि संसद बैठक आह्वानको प्रक्रियासंगै नयाँ सरकार गठनको बाटो खुल्छ । राष्ट्रिय सहमतीको कुरा पनि हाम्रो संविधानमा छँदैछ । त्यो भएन भने विधिप्रक्रिया अनुसार बहुमतीय प्रणालीबाट प्रधानमन्त्रीको चयन हुन्छ । धेरै लामो समय लाग्दैन । किनभने हाम्रो गठबन्धनको सुविधाजनक र पूर्ण बहुमत भइसकेकाले सरकार गठन चाँडो हुने भएको छ । थ्रेसहोल्डले पनि केही सहज बनाएको छ । त्यसकारण त्यती धेरै समय लाग्दैन ।