काठमाडौं-मानव स्वास्थ्यका लागि काठमाडौं उपत्यकाको वातावरण अन्य समयमा भन्दा बिहान बढी हानिकारक भएको विज्ञहरुले जनाएका छन् । वातावरण विभागका उपमहानिर्देशक सफला श्रेष्ठले अन्य समयमा भन्दा बिहानी समयको वातावरण बढी प्रदूषणयुक्त र हानिकारक रहेको बताइन् ।


ADVERTISEMENT


राती १० बजेपछि बिहान ५ बजेसम्म कम सवारी साधन चल्ने र प्रदूषणका कणहरु जम्ने हुँदा बिहानको समय स्वास्थ्यका लागि खतराजनक रहेको अध्ययनले देखाएको उनको भनाई छ । ‘घाम लागेपछि विस्तारै प्रदूषण हावामा उड्ने गर्छ, यसकारण दिउँसोको समयमा काठमाडौ उपत्यकाको वातावरणले खासै असर गर्दैन’ उपनिर्देशक श्रेष्ठले भनिन् ।


ADVERTISEMENT

# # #


अहिलेसम्म नेपालमा १२ स्थानमा प्रदूषण मापनयन्त्र राखिएको छ । निर्देशक श्रेष्ठकाअनुसार चिसो मौसममा बिहान र बेलुका प्रदूषण अन्य समय भन्दा धेरै हुने गर्छ । चिसोका कारण प्रदूषणका कणहरु धेरै जम्ने हुँदा हिँडडुल गर्ने व्यक्तिलाई स्वास–प्रस्वासमा असर गर्छ । बिहान हुस्सु, तुवालो र चिसोको कारण पोलुसन उड्न पाउँदैन ।

घाम लागेसँगै प्रदूषण हावाको वेगसँगै उड्ने भएकाले दिउँसो १ बजेको समयमा त्यो मात्रा कम हुन्छ ।उपत्यकामा सवारीसाधनको धूवाबाट नै बढी प्रदूषण निस्कने श्रेष्ठको भनाई छ ।

यातायात विभाग, ट्राफिक प्रहरी, प्रधानमन्त्री कार्यालय र वातावरण विभागको सहकार्यमा सवारी साधनबाट निस्कने धूँवा नाप्ने काम भइरहेको छ । विभागले निकट भविष्यमै ४ वटा प्रदूषण मापन यन्त्र थप्ने जनाएको छ । मानव स्वास्थ्यका लागि २.५ धुलोको कण संवेदनशिल मानिन्छ । २४ घण्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पिएम २.५ को मात्रा धेरै बढी हुनेगर्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डले पिएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ । तर, नेपालको मापदण्डले भने ४० माईक्रोग्राम घनमिटरसम्म तय गरेको छ ।