काठमाडौँ– नेपाल प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले नागरीकताको जन्ममिति फेरबदल गरी जागिर खाएको उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा आयोगले थप उमेरको बिषयमा छानबिन गर्न गृह मन्त्रालयलाई अनुरोध पत्र लेखेको छ । गत फागुन १४ मा गलत नियतका साथ सरकारी निकायलाई उमेर झुक्याई जागिर खाएको उजुरी आयोगमा परेको थियो ।


ADVERTISEMENT


ज्ञवालीले पेश गरेको नागरीकतामा २०४१ चैत्र २१ मा जारी भएको नागरिकता अनुसार उनको उमेर १७ बर्ष उल्लेख भएको देखिएको पत्रमा उल्लेख छ । आयोगका अनुसार उक्त जन्ममितिबाट ज्ञवालीको जन्ममिति गणना गर्दा २०२४ चैत्र २१ हुने देखिन्छ ।


ADVERTISEMENT

# # #


प्रहरी नियमावाली २०४९ को दोस्रो संशोधनसहितको नियम १३ को उपनियम १ मा प्रहरी निरीक्षक पदको लागि खुल्ला प्रतियोगितामा छनौट हुने सालको बैशाख १ गते २० बर्ष उमेर पुगेको तथा २५ बर्ष ननाघेको हुनुपर्ने विषय पत्रमा उल्लेख गरिएको छ । तर, ज्ञवालीको हकमा भने उनको नागरिकता प्रमाणपत्र अनुसार २०५० साल मंसिरमा १ मा प्रकाशित भएको प्रहरी निरीक्षक पदको आवेदनमा उनको उमेर २५ बर्ष ९ दिन भएको आउने देखिएको आयोगको पत्रमा उल्लेख गरिएको छ ।

यस बिषयमा के, कसो भएको हो ? बारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०७९ चैत्र ६ गतेको पत्र अनुसार गृह मन्त्रालयलाई एक महिनामा प्रतिवेदन बुझाउन अनुरोधपत्र हिमालय पोष्टलाई प्राप्त भएको छ ।

यसअघि उमेर विवादकै कारण प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका थिए । उनीविरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । उनले उमेर ढाँटेर सेवा प्रवेश गरेको र एसएसपीमै अवकाश पाउनुपर्ने उल्लेख उजुरीमा गरिएको थियाे ।