काठमाडौं-बाढीबाट विस्थापित भएको पाँच महिना बितिसक्दा पनि इटहरीका बाढीपीडित पालमुनि सुत्न बाध्य छन् । उनीहरू बूढीखोला किनारको चिसोमा दिन बिताइरहेका हुन् । चिसोबाट गर्भवती, सुत्केरी महिला र साना बालबच्चा झन् पीडित छन् ।


ADVERTISEMENT


इटहरी–३ मा मात्रै झन्डै ३० परिवार पालमुनि बसिरहेका छन् । अन्य ठाउँमा पनि एक दर्जन परिवार पालमुनि बसेका छन् । जहाँ उनीहरूको जीवन कष्टकर छ । त्यसमाथि पनि जाडो तथा पानी परेका बेला अझ धेरै समस्या छ । बच्चाहरू बिरामी भइरहने गरेको स्थानीय सकुन लिम्बू बताउँछिन् ।‘ बिरामी भइरहन्छन्, अस्पताल कुदाएर औषधि ल्यायो,’ लिम्बू भन्छिन्, ‘ओच्छ्यानभरि औषधि नै औषधि हुन्छ।’


ADVERTISEMENT

# # #


एक वर्षअघि मात्र १० लाख रुपैयाँ खर्चेर घर बनाएकी कौशिला लिम्बूको घर बाढीले बस्नै नहुने बनाइदिएको छ । उनको घर बालुवाले भरिएको छ । बेला बेलामा नातिनीलाई ढाडमा बोकेर उनी घर हेर्न जान्छिन् । ‘६ लाख रुपैयाँ अझै ऋण छु, उनी भन्छिन् ‘केही सामान निकाल्न पाइएन, म, बुहारी र छोरी थियौं, भाग्यले बाँच्यौं ।’

त्यसयता उनी विस्थापित बनेकी छन् । विस्थापित भएर बस्दा खान, लगाउन टुंगो छैन । पाँच महिना भइसक्यो, जीवन सामान्य बनेको छैन । ‘कहाँ जानु अरूतिर कतै केही छैन,’उनी भन्छिन्, ‘खोला किनारमा चिसोमा निकै दुःख छ, तैपनि बस्नै पर्नेछ ।’

बूढीखोलामा आएको बाढीका कारण इटहरीको बूढीखोला किनारमा बसेका विभिन्न बस्तीमा गरी ६ जना बढीको मृत्यु भएको थियो । दर्जनौं घरपरिवार विस्थापित भएका थिए ।