एजेन्सी–भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हालेका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ । निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको काँग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ ।


ADVERTISEMENT


यसअघि १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनिया गान्धीले गत शनिबार ४७ वर्षीय आफ्नै छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । योसँगै काँग्रेसको नेतृत्व गान्धी परिवारको अर्को पुस्तामा पुगेको छ ।


ADVERTISEMENT

# # #


सत्तारुढ दल भारतीय जनता पार्टीले भने राहुललाई इच्छाशक्ति नभएको र प्रभावहीन व्यक्तिका रूपमा चित्रित गरेको छ । “काँग्रेसले हालैको निर्वाचनमा पनि केही ठाँउमा आफ्नो प्रभाव गुमाउँदै गएको छ, त्यसलाई पुनर्जीवन दिनु उहाँको चुनौती हो,” प्राध्यापक रविन्द्र गुलातीले भने ।

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो ।

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।