काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका छन् । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने,‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’


ADVERTISEMENT


वासिङ्टन पोष्टमा छापिएको समाचारमा ट्रम्पले भनेका छन्, ‘यो कस्तो खालको सिस्टम हो ? उनीहरु चिठ्ठा पारेर हाम्रो देशमा आउँछन् । उनीहरुले खराबभन्दा खराब मानिसहरु दिएका छन् ।’


ADVERTISEMENT

# # #


पछिल्लो समय न्यूयोर्कमा आतंकवादी आक्रमणमा संलग्न मानिस डीभी परेर अमेरिकामा भित्रिएका मानिस भएको खुलेको थियो । त्यसयता ट्रम्पले चिठा पारेर संसारबाट मानिसहरु अमेरिका भित्र्याउने सिस्टमको विरोध गर्दै यसलाई तत्कालै बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत् अमेरिका भित्राउँदै आएको छ । यसरी डीभी चिठ्ठामार्फत् अमेरिका पुग्नेको पहिलो नम्बरमा नेपालीहरु रहेका छन् । सन् २०१२ देखि २०१७ सम्मको अवधिमा १६ हजार ७ सय ५५ नेपालीहरु डीभीमार्फत् अमेरिका गएका छन् । २०१७ मा मात्रै ३४ सय बढी नेपाली डीभीमार्फत् अमेरिका गएका छन् ।

डीभी चिठ्ठा कार्यक्रम सुरु भएयता करिव ५५ हजार नेपाली यो कार्यक्रममार्फत् अमेरिका पुगेका छन् ।