सृजना मगर, काठमाडौँ- मधुमेह रोग विश्वव्यापी रुपमा देखिएको एक आम समस्या हो । विश्वमा झण्डै २५ करोड व्यक्ति यस समस्याबाट प्रभावित छन् भने नेपालको सन्दर्भमा हाल १० लाखभन्दा बढि हाराहारीको संख्यामा मधुमेहका रोगीहरु रहेको देखिन्छ । यद्यपि अझै पनि ५० प्रतिशत बिरामीको पहिचान नै हुन नसकेको अवस्था छ । यस्तै, दूरदराजका मधुमेहका बिरामीहरुमा अझै पनि आफूलाई मधुमेह छ भन्ने बारे अज्ञात नै छन् ।


ADVERTISEMENT


यी सबैको प्रमुख कारण नेपालमा मधुमेह रोगसम्बन्धि आमव्यक्तिमा जनचेतना कमी रहेको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टरार्ई बताउँछन् । ‘यसैकारण पनि यसपटकको मधुमेहको मुल नारा नै ‘एजुकेट टु प्रोटेक्ट टुमोरो’ अर्थात्, ‘भविष्यको सुनिश्चितताका लागि आजै जानकार रहौँ’ भन्ने रहेको छ’, उनले सुनाए । यससम्बन्धिको प्रमुख ज्ञान भनेकै मधुमेह लाग्नै नदिने र लागि हालेमा कसरी त्यसलाई नियन्त्रण राख्ने भन्ने रहेको डा. भट्टराईले जनाए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, रगतमा चिनीको मात्रा हुनुपर्नेभन्दा बढी भएको अवस्था नै मधुमेह हो । शरीरमा आवश्यक ऊर्जाको लागि ग्लूकोजलाई शरीरको कोषिकाहरुमा पठाउने इन्सुलिनको उत्पादन नभएमा वा विविध कारणवश् त्यसले उचित रुपमा काम गर्न नसक्दा व्यक्तिमा मधुमेहको देखिन्छ ।

यो रोग लाग्न नदिनका लागि उचित जीवनशैली तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने बताउँदै डा. भट्टराईले अघि भने, ‘मधुमेह पहिचान भएका व्यक्तिले पनि आफ्नो आहार र जीवनशैलीमा ध्यान दिदैँ उचित रुपमा औषधिको सेवन गर्नुपर्छ ।

मधुमेह सम्बन्धी जनमानसमा अझै पनि भ्रमहरु उत्तिकै रहेको  र तीमध्ये एकपटक सुगरको औषधी सेवन गरेपछि छोड्न मिल्दैन भन्नु मुख्य रहेको उनले सुनाए । ‘उसो त मधुमेह निको हुने रोग होइन । तर, शुरुआती चरणमा नै सुगरको पहिचान गर्न सकेका कतिपय व्यक्तिहरुमा केहि अवधि इन्सुलिन सेवनपश्चात् सुगर नियन्त्रण भएको खण्डमा औषधि सेवन नगर्न सल्लाह पनि दिइन्छ । तर, मधुमेह रोगको लामो अवधि भइसकेका व्यक्तिमा भने औषधि रोक्न सकिदैँन । तसर्थ यो व्यक्तिपिच्छे र सुगरको अवधिमा भर पर्ने कुरा पनि हो’, उनले भने ।

यता अर्का मधुमेह रोग विशेषज्ञ डा. सुबी खरेल पनि नेपालमा मधुमेहका निम्ति प्रयोग गरिने औषधि सम्बन्धि विभिन्न मिथ्थाहरु अझै व्याप्त रहेको सुनाउँछिन्। ‘केहि बिरामीहरु लामो समयसम्म मधुमेहको औषधिले मिर्गौलामा असर गर्छ भन्ने डरबाट ग्रसित रहेको समेत पाइन्छ’, सुनाउँदै उनले भनिन्, ‘तर, यो एक भ्रम मात्रै हो ।’ उनका अनुसार, मधुमेहको औषधि प्रयोगको अवधि जतिसुकै भएपनि त्यसले मिर्गौलालाई असर गर्दैन । बरु रगतमा धेरै सुगरको मात्रा लामो समयसम्म रहेमा त्यसले भने मिर्गौला असर पु¥याउने सम्भावना उच्च रहन्छ ।’

शरीरमा चिनीको मात्रा कम हुनु पनि एक समस्या

शरीरमा चिनीको मात्रा उच्च हुँदा मात्रै नभई आवश्यकभन्दा कम भएको अवस्थामा पनि यसले व्यक्तिमा समस्या निम्त्याउने कुरा कमैलाई मात्र थाहा भएको डा. खरेल  बताउँछिन् ।

रगतमा चिनीको मात्रा धेरै हुनुलाई ‘हाइपर ग्ल्याईसेमिया’ र कम हुनुलाई ‘हाईपो ग्ल्याईसेमिया’ भनिने बताउँदै उनले भनिन्, ‘हाईपो समस्या अन्र्तगत भने व्यक्तिमा रिगंटा लाग्ने, बेहोश हुने, पसिना आउने, आँखा धमिलो हुन, मुटुको धड्कन बढ्ने, भोक लाग्ने तथा आत्तिनेलगायतका समस्याहरु देखिन्छन् ।’ यस्ता लक्षण देखिएका व्यक्तिले तुरुन्तै चिनीयुक्त खानेकुरा खानुपर्ने र सम्बन्धित चिकित्सकलाई सम्पर्क गर्नुपर्ने उनको भनाई छ । अन्यथा यसले बिरामी कोमामा जानसक्ने जटिल अवस्था समेत निम्त्याउन सक्ने उनले सुनाइन् ।

समग्रमा यी दुवै शरीरका निम्ति हानिकारक रहेको र हाईपर ग्ल्याईसेमिया भएका व्यक्तिलाई पनि हाईपो ग्ल्याइसेमियाको सम्भावना उत्तिकै रहने बताउँदै डा. खरेलले थपिन्, ‘मधुमेह बिरामीको शरीरले चिनीको मात्रालाई सन्तुलन गर्न नसक्ने हुँदा हाईपर ग्ल्याईसेमिया भएका व्यक्तिमा हाईपो ग्ल्याइसेमियाको सम्भावना पनि उत्तिकै रहन्छ ।’  तसर्थ यस समस्याबाट बच्नका लागि चिकित्सकको सल्लाहबमोजिम औषधि तथा इन्सुलिनको सेवन उचित रुपमा गर्दै लामो समयसम्म भोकै नबसी पटक–पटक गरेर थोरै मात्रामा स्वस्थ्य खानेकुरा खाइरहन पनि उनले सुझाइन् ।

उच्च जोखिम समूह

परिवारको कुनै सदस्यमा मधुमेह ‘हिस्ट्री’ संगै व्यक्तिको जीवनशैली अस्वस्थ भएको खण्डमा व्यक्तिमा यस समस्याले सताउने सम्भावना प्रबल रहने विज्ञहरु बताउँछन् । यसबाहेक निम्न पक्षले अझ यसलाई बढावा दिने उनीहरुको भनाई छ :
-आणुवंशिक
-अस्वस्थ्य जीवनशैली
-शारीरिक निस्क्रियता
-मोटोपन
-मानसिक तनाव
-र, धुम्रपान तथा मद्यपानको सेवन ।

तसर्थ शरीरमा मधुमेह लाग्नै नदिनका लागि यसका कारक तत्वबाट टाढा रहदै समय-समयमा आफ्नो शारीरिक परीक्षण गराइराख्नुपर्ने उनीहरुको धारणा छ । यस्तै, केहि कारणवश् मधुमेह लागिहालेमा पनि खानपिनमा ध्यान दिने, नियमित औषधिको सेवन गर्ने र मधुमेहले शरीरका सबै अंगमा असर पु¥याउने हुँदा उनले मधुमेहका बिरामीले प्रत्येक ६/६ महिनामा मिर्गौलाको र वर्षमा एकपटक आँखाको जाँच समेत गराउनुपर्ने विज्ञहरु सुझाउँछन् ।

मधुमेह रोगसम्बन्धि नेपालमा देखिएको चुनौती

मधुमेहसम्बन्धि मुलुकमा देखिएको कमजोर एकातिर उचित जनचेतनाको अभाव त छदैँ छ संगै अर्कातर्फ यससम्बन्धिको विशेषज्ञको संख्या न्युन हुनु र त्यसमाथि पनि भएका चिकित्सकहरु सुगम क्षेत्रमा मात्रै परिचालित हुनु पनि यस क्षेत्रमा देखिएको अर्को चुनौती हो । जसकारण परिणामस्वरुपः दुर्गम क्षेत्रका बिरामीहरु अझैपनि उपचारविहिन बन्न पुगेको अवस्था छ ।

उसो त, नेपालमा अन्य रोग विशेषज्ञको तुलनामा हार्मोनसम्बन्धि विशेषज्ञको संख्या न्युन रहेको छ । यद्यपि यस समस्या समाधानका लागि सरकारले भएका मेडिकल अफिसर तथा नर्सहरुलाई उचित तालिम प्रदान गरेर दूरदराजका अस्पतालहरुमा परिचालन गर्नुपर्ने तथा सबै दुर्गम क्षेत्रमा यससम्बन्धि उचित जनचेतनामूलक कार्यक्रमको आयोजना सञ्चालन गर्नुपर्ने देखिएको छ ।