काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको नाबालिका बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।


ADVERTISEMENT


जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । मुद्दामा सन्दीपको पक्षका वकिलले बहस सकाएका छन् ।


ADVERTISEMENT

# # #


प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो ।

बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेको सन्दीपका अधिवक्ता सुधा रिजालले जानकारी दिइन् । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेको अधिवक्ता रिजालले बताइन् ।

बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको उनले जानकारी दिए । त्यसका लागि उनीहरुले पीडितको जन्मदर्ता, स्कुलका सर्टिफिकेटलाई आधार बनाएका छन् । यस्तै सन्दीपलाई पुर्पक्षका लागि थुनामा नराखी धरौटीमा रिहा गरेर मुद्दा अघि बढाइनुपर्ने माग राखे ।

सो मुद्दामा हिजो सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्दै लामिछानेले बलात्कार गरेको जिकिर गरेका थिए । प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् । लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउने भन्ने आदेश आउने छ ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ ।

गत भदौ २१ गते सन्दीपले आफूलाई भदौ ५ गते राती बलात्कार गरेको भन्दै एक नाबालिकाले प्रहरी बृत्त गौशालामा उजुरी दिएकी थिइन् । खेलका लागि बाहिर गएका सन्दीप उजुरी परेपछि १ महिना प्रहरीको सम्पर्कमा आएका थिएनन् ।

प्रहरीले सन्दीपलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो । त्यसपछि आफै नेपाल आएका सन्दीप गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने बित्तिकै पक्राउ परेका थिए ।