सोलुखुम्बु– विश्वमै परिचित सगरमाथा क्षेत्रमा पर्ने खुम्बुपासाङल्हामु गाउँपालिकाको कार्यसञ्चालन सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।


ADVERTISEMENT


कार्यकारी अधिकृत चन्द्रबहादुर कार्कीको नेतृत्वमा पुगेको कर्मचारी टोलीले बिहीबारबाट सो गाउँपालिकाको काम सुरु गरेपछि स्थानीयवासी खुसी भएका हुन् ।


ADVERTISEMENT

# # #


साविकको नाम्चे, खुम्जुङ र चौँरीखर्क गाविसका साथै जुभिङको वडा नं १, ५, ७ र ९ नं वडा समेटिएको सो गाउँपालिकाको चौँरीखर्कस्थित कार्यालय उद्घाटन गर्दै कार्यकारी अधिकृत कार्कीले गाउँपालिका र वडापालिकालाई प्रदत्त कार्यक्षेत्रअनुसारका काम सुरु भएको बताए ।

यसअघि सार्वजनिक सेवासुविधा लिनका लागि सदरमुकाम पुग्न एकतर्फी तीन÷चारदिन हिँडेर बिकट भौगोलिक अवस्था छिचोल्नु वा हेलिकप्टर वा जहाजको महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै सो सेवा पाउँदा सहज भएको प्रतिक्रिया सो अवसरमा स्थानीयवासीले दिएका छन् ।

नाम्चेका अगुवा सोनाम ग्याल्जेन शेर्पाले भने “अति आवश्यक नभई सरकारी सेवा लिन सदरमुकाम पुगिँदैनथ्यो, सदरमुकाम पुग्ने अप्ठयारो बाटोका कारण धेरैले नागरिकता बनाएका पनि छैनन्, अब गाउँघरमै काम सुरु हुँदा ज्यादै सहज अनुभूति भएको छ ।”

खुम्बुपासाङल्हामु गाउँपालिकालाई जिल्लाका आठवटा स्थानीय तहमध्ये पृथक् मानिन्छ । बर्सेनि ३५ हजारको हाराहारीमा विदेशी पर्यटक आउने खुम्बुमा पर्यटन व्यवसाय व्यवस्थित गर्नका लागि पनि गाउँपालिकाको काम महत्वपूर्ण हुने ठानिएको छ ।

यसअघि आवश्यक भौतिक संरचना नबन्ने, पर्यटक सूचना अभावमा हराउने, पर्यटकले लोपोन्मुख जनावर तथा बहुमूल्य जडीबुटीको अनधिकृत प्रयोग गर्नेलगायतका धेरै समस्या रहेका थिए । त्यस्तै बर्सेनि रु। एक अर्बको हाराहारीमा व्यापार हुने होटल पसललाई करको दायरामा ल्याउन सकिएको थिएन, अनुमतिबिना ड्रोन उडाउनेदेखि सगरमाथामा निशेधित वस्तु लैजानेसम्मका गतिविधि भइरहेको संवेदनशील क्षेत्रमा सरकारी तहको बलियो उपस्थितिले यस्ता गैरकानुनी काम रोकिने स्थानीयवासीको अपेक्षा छ ।

खुम्बुमा पर्यटन व्यवसायलाई कानुनसंवत् व्यवस्थित गरेर आयस्रोतलाई सदुपयोग गर्नसकेको खण्डमा खुम्बुपासाङल्हामु गाउँपालिका देशकै समृद्ध गाउँपालिका बन्ने विश्वास स्थानीयवासीको छ । चौँरीखर्कका समाजसेवी ङिमदोर्जी शेर्पाले निर्वाचन भई जनप्रतिनिधिको चयन भएपछि गाउँपालिकामा अझ प्रभावकारी काम हुने बताउँछन् ।