काठमाण्डौं-तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गरे ।


ADVERTISEMENT


विजयी खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


प्रदेश सभातर्फ (क) क्षेत्रमा लक्ष्मण तिवारी र (ख) क्षेत्रमा तेजमान कन्दङ्वा विजयी भएका छन् । प्रदेश सभा (क)मा एमाले जिल्ला अध्यक्ष समेत रहेका तिवारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गरे ।

तिवारीले ११ हजार ७ सय २६ मत र ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन् । जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।

प्रदेशसभा (ख)तर्फ पनि एमालेकै तेजमान कन्दङ्वा विजयी भए । उनले नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलाई २ हजार २ सय ५५ मतले पराजित गरेका छन् । कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरे भने सम्बाहाम्फेले ८ हजार ४७ मत पाए ।

जिल्लाका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका सम्मिलित सो निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ८८ मतदाता रहेकामा १९ हजार ९ सय ६३ मत खसेको थियो । सो क्षेत्रका ७ सय १२ मत बदर भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले एक स्थानीय तह जितेका थिए ।

कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो ।