काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार भारतका प्रभाकरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


५९ वर्षीय प्रभाकरले भारतीय राष्ट्रिय क्रिकेट टोलीबाट ३९ वटा टेस्ट र १३० वटा एकदिवसीय खेल खेलेका छन् । यसअघि अफगानिस्तानको प्रशिक्षकका रुपमा काम गरिसकेका उनले भारतका रणजी ट्रफी टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एशोसिएसनमा समेत प्रशिक्षक भएर काम गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले नेपाली क्रिकेटलाई बलियो बनाउनका लागि काम गर्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘नेपालमा क्रिकेटप्रतिको चासो, खेलाडीहरुको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु।’

साउन ४ गते पुबुदु दशानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि नेपाली टोलीको मुख्य प्रशिक्षकको पद रिक्त थियो । नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकरसामू आईसीसी विश्वकप क्रिकेट लिग–२ मा संघर्ष गरिरहेको नेपालको एकदिवसीय मान्यता जोगाउने चुनौती रहेको छ ।