काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकारसम्मेलन गर्दै मुख्य प्रशिक्षक दशानायकेले पदबाट राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


उनले नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाली क्रिकेट टोलीको स्कटल्याण्ड भ्रमण अघि नै राजीनामा बुझाएका थिए । जसमा उनले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको उल्लेख गरेको क्यानले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुधबार दशानायकेले मिडियासँग भने, ‘मेरो कोचिङ करियरमा यो सबैभन्दा कठिन निर्णय थियो। मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु । मेरो प्रस्थानको कारण मेरो परिवारलाई आवश्यक पर्दा उनीहरूकाे हेरचाह गर्नु हो ।’

श्रीलंकन मूलका क्यानडेली दशानायके गत मंसिरमा दुई वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका थिए । तर, यो अवधिमा नेपाली टोलीले खराब प्रदर्शन गरेपछि प्रशंसकले उनको राजीनामा माग गरिरहेका थिए ।

पुबुदुकै प्रशिक्षकत्वमा नेपालले गत फेब्रुअरीमा ओमानमा महत्वपूर्ण टी–२० विश्वकपको ग्लोबल छनोट खेलेको थियो । तर, नेपाल सेमिफाइनलमा युएईसँग पराजित भएसँगै विश्वकपमा पुग्न असफल भएको थियो ।

यस्तै नेपालले सन् २०२३ मा हुने एकदिवसीय विश्वकप पुग्ने बाटोको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ मा पनि खराब प्रदर्शन गरिरहेको थियो । जसमा पुबुदुकै प्रशिक्षकत्वमा नेपालले १२ खेल खेल्यो । तर, नेपालले ४ खेल मात्रै जित्दा ७ खेलमा हार व्यहोर्यो । यस्तै १ खेलमा बराबरी खेल्न सक्यो ।

घरेलू मैदानमै भएको पपुवान्यूगिनी विरुद्धको २ खेलको एकदिवसीय सिरिज गुमाएको नेपालले मलेसियासहितको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज भने जितेको थियो । यस्तै जिम्बाबे ए टिमसँगको टी–२० शृंखलामा १–१ को बराबरी खेल्दा एकदिवशीय शृंखला नेपालले २–१ ले जितेको थियो ।

दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गरको थिए । उनको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो ।

सन् २०१४ मा बङ्गलादेशमा आयोजित आइसिसी टि–ट्वान्टी विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो । त्यस्तै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो ।