काठमाडौं – भारत सरकारले खानेतेलको कच्चा पदार्थमा लाग्ने आयात शुल्क घटाएसँगै नेपालमा तेलको मूल्य स्वाट्टै घटेको छ । यहाँ उत्पादित खानेतेल भारत निकासी गर्न नपाएपछि व्यवसायीले मूल्य घटाएका हुन् । प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्म पुगेको भटमास तेलको मूल्य पछिल्लो १ सातामा ७ सयले घटेर २ हजार ५ सय रुपैयाँ कायम भएको छ । सूर्यमुखी तेलको मूल्य पनि कार्टुनमा ६ सय रुपैयाँसम्म घटेको छ । यसअघि प्रतिकार्टुन ३ हजार २ सयमा विक्री भइरहेको सूर्यमुखी तेल अहिले २ हजार ६ सय रुपैयाँमा पाइन्छ ।


ADVERTISEMENT


भारतले तेलको कच्चा पदार्थ आयातमा लाग्ने शुल्क नघटाउँदासम्म नेपाली तेल उत्पादकले महँगो मूल्यमा भारतमा निकासी गर्न पाएका थिए । आयात शुल्क कटौतीसँगै भारतमै नेपालको भन्दा कम लागतमा तेल उत्पादन हुन थालेपछि यताबाट हुने निकासी लगभग ठप्प जस्तै भइसकेको छ । मूल्यका कारण सीमावर्ती क्षेत्रका नेपाली उपभोक्तासमेत खानेतेल किन्न पारी जाने स्थिति बनिसकेको व्यवसायी बताउँछन् । भारतले महँगी नियन्त्रण गर्न खानेतेलको कच्चा पदार्थमा लाग्ने आयात शुल्क घटाएको हो ।


ADVERTISEMENT

# # #


यसले गर्दा भारतमै नेपालको भन्दा कम लागतमा खानेतेल उत्पादन हुन थालेको वीरगञ्जस्थित ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । उनका अनुसार खानेतेलको कच्चा पदार्थ आयातमा ४० प्रतिशतसम्म कर असुलिरहेको भारतले अहिले घटाएर ३ प्रतिशत हाराहारी कायम गरेको छ । ‘नेपाली बजारमा खानेतेलको मूल्य घट्नुमा धेरै कारण छैन । भारतले कच्चा पदार्थमा आयात शुल्क घटाएपछि नेपालबाट हुने निर्यात ठप्प भयो । निकासी गर्न नपाउँदा हामीसँग मौज्दात बढ्यो र मूल्य घट्न गयो,’ रुंगटाले भने ।

खुद्रा व्यापार संघका अध्यक्ष अमूलकाजी तुलाधर भने निकासीबाट हुने आम्दानी घटेको बेला बैंक कर्जाको साँवाब्याज चुक्ता गर्नुपर्ने दबाबले गर्दा उद्यमीले बाध्य भएर मूल्य घटाएको हुन सक्ने बताउँछन् । ठूला उद्यमी, व्यापारीले मनपरी मूल्य घटबढ गर्दा खुद्रा व्यापारी र उपभोक्ता मारमा पर्ने उनी बताउँछन् । सरकारले अत्यावश्यक खाद्य वस्तुको आयात र विक्री वितरणको जिम्मा साल्ट ट्रेडिङजस्ता सरकारी निकायलाई दिए बजार मूल्य नियन्त्रणमा केही हदसम्म सहयोग पुग्ने उनको बुझाइ छ ।

निरन्तर उकालो लागिरहेको तेलको मूल्य घट्न थालेपछि उपभोक्ताले पनि राहत महसूस गर्न पाएका छन् । बुधवार कालीमाटीको खुद्रा बजारमा किनमेल गर्न आएका राजेश महर्जनले यसअघि किनेको भन्दा कम मूल्यमा तेल पाएपछि केही राहत महसूस भएको बताए । उनले करीब २ साताअघि भटमास तेल ३ सय ३० रुपैयाँ लिटरको हिसाबले किनेका थिए । बुधवार त्यही तेल ३ सय रुपैयाँ लिटरमा किनेको उनले सुनाए । आर्थिक अभियान दैनिकबाट ।