ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर ३ स्थित झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा आएको छ।


ADVERTISEMENT


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले बिहीबार उद्घाटन गरी ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो।


ADVERTISEMENT

# # #


वडा कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय गरी चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो। प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको एसएसपी जोशीले बताए।

‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ,’ उनले भने, ‘प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ।’

हाल उपत्यकाको मुख्य ४० चोकहरूमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको कार्यालयले जनाएको छ।

ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरूमा ट्राफिक लाइटको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ।