सुनसरी – पूर्वराज्यमन्त्री तथा नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले माटो जोगाऔं अभियानकर्मीलाई सम्मान गरेकी छिन् । ‘माटो जोगाऔं’ अभियानका साथ ३५ सय किलोमिटर दौडयात्रीलाई सुनसरीको दुहवीमा स्वागत सम्मान गरिएको हो ।


ADVERTISEMENT


फरवार्ड  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, ग्रामिण महिला उत्सुकता विकास मञ्च, दुहवी नगरपलिका तथा गढी तथा बर्जु गाउँपालिका र लायन्स क्लव अफ दुहवी ३२५ ए वानको संयुक्त आयोजनामा भएको कार्यक्रममा माटो जोगाऔं अभियानका दौड यात्री यम बहादुर चोचाङ्गी पुन मगरलाई स्वागत तथा सम्मान गरिएको हो ।


ADVERTISEMENT

# # #


फरवार्ड सुपरमार्केटको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी नेतृ चौधरीले  उक्त अवसरमा बोल्दै कृषि क्षेत्रमा बिषादीको अत्याधिक प्रयोगले उत्पादकत्व घट्दो रहेको चर्चा गर्दै माटोको उर्वराशक्ति बढाउन विषादी प्रयोगमा राज्यले नै निरुत्साहित गर्नुपर्ने बताइन् ।

चौधरीले माटोको प्रकारको बारेमा जानकारी गराउँदै माटो विभिन्न कारण नाश हुदै गएको, जंगल फडानी हुदै गएको, आधुनिकीकरणको नाममा माटो मरुभुमिकरण हुदै गएको बताइन् । किसानहरुले कृषिजन्य वस्तुहरु उब्जाउने क्रममा रसायनिक मलको जथाभावी प्रयोग गर्दा जमिनको उर्वराशक्ति कमजोर हुदै गएको जिकीर गर्दै चौधरीले यसलाई अहिलेनै ध्यान नदिएमा माटोबाट उत्पादन सवै वस्तुहरु बिनास हुने तथा प्राणी तथा मानवकै अस्तित्व समेत संकटमा पर्ने बताइन् ।

नेपाल जस्तो कृषि प्रधान देशमा माटोको उत्पादकत्व बढाउन विषादी न्यूनिकरणमा जोड दिनुपर्ने बताउँदै नेतृ चौधरीले अर्गानिक उत्पादनमा सरकारले कृषकहरुलाई प्रोत्साहन गर्दै माटो संरक्षण अभियान चलाउनु पर्ने समेत बताइन् । ‘प्राकृतिक रुपमा माटोको संरक्षण गर्न तथा दिर्घकालिन रुपमा उत्पादकत्व बढाउन विषादी प्रयोग गर्न राज्यले नै निरुत्साहित गर्नुपर्छ ।’ चौधरीले भनिन् ।

पछिल्लो समय नेपालको अन्नको भण्डार तराईमा जनघनत्व बढ्दै गएको र सहरीकरण बढेको प्रसंग निकाल्दै चौधरीले कृषि योग्य जमिनलाई प्लटिङ हुनबाट जोगाउनु पर्नेपनि बताइन् । माटो जोगाऔं अभियानकर्मीको अभियानले देशका लाखौं जनतालाई माटोको महत्वका बारेमा सचेतना बाँड्ने विस्वास व्यक्त गरिन् ।

कार्यक्रममा गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले गढी गाउँपालिकाको ९९ प्रतिशत जनसंख्या कृषिमा आधारित भएकाले माटो जोगाउन नसकेको कारण किसानहरुको दिनानुदिन चुनौती बढ्दै भएको जानकारी दिए ।

दुहबी नगरपालिकाकी उप–प्रमुख मेनुका खतिवडाले माटो हाम्रो किसान र हामी नेपाली किसानको साथी हो भन्दै यसको जगेर्न गर्नुपर्ने बताइन् । मिलीराम चौधरीले माटोमा परेको असरले त्यसको साईड ईफेक्ट मानवलाई परेको बताउँदै आउँदा दिनहरुमा मानवले अनेकौं चुनौतीको सामना गर्नुपर्ने जिकीर गर्दै अहिलेदेखि नै माटोको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा टोलीका तर्फबाट सनम लिम्बुले हाम्रा गलत कृयाकलापका कारण जलबायु र पर्यावरणमा परेको नराम्रो असरले बिश्व तथा नेपालमा परेको प्रभावका बारेमा तथ्याङ्क सहितको जानकारी दिँदै आउने दिनमा माटोको संरक्षण गर्न नसके डाईनोसर जस्तै मानिस र पृथ्वीका सबै प्राणी लोप हुन सक्ने बताए ।

माटोलाई स्वस्थ राख्न विश्वभरका मानिसलाई सचेतना फैलाउने अभियानका साथ मोदी गाउँपालिका पर्वतका यमबहादुरले नेपालभर ३५ सय किलोमिटर दौड अभियान चलाएका ७० देखि ७५ दिनभित्र नेपालको ७७ वटै जिल्लाहरु पुग्ने लक्ष्यका साथ अगाडी बढेका छन् । कार्यक्रमले जनतामा माटोको उर्वराशक्ति कायम गर्न, विषादीको प्रयोग निरुत्साहित गर्न, अर्गानिक कृषि वस्तु उत्पादनमा जोड दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।