काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो ।


ADVERTISEMENT


नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । आसिफले ८६ बलमा सात चौका र एक छक्कासहित ६२ रन बनाए । जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । त्यस्तै, कुशलले ७५ बलमा पाँचसहित ५६ रनको योगदान दिए ।


ADVERTISEMENT

# # #


देव खनाल १० रनमा आउट हुँदा उपकप्तान रोहित पौडेल (अविजित) ले २६ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट सात रन बनाए । त्यसअघि टेक्सासको मोसा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ बलमा १६३ रनमै अलआउट भयो । उसका लागि कप्तान जीशान मक्सूदले ५२ रन र सन्दीप गौडले ४७ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा करण केसीले पाँच विकेट लिए । ९ ओभरमा ३३ रन दिएका उनले ओमानको महत्वपूर्ण पाँच विकेट लिएका हुन् । एकदिवसीय खेलमा करणले लगातार दोस्रो खेलमा पाँच विकेट लिन सफल भए । उनले जारी सिरिजको पहिलो खेलमा ओमानविरुद्ध पनि पाँच विकेट नै लिएका थिए ।

कप्तान सन्दीप लामिछानेले तीन, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट हात पारे । जितसँगै २ अंक जोडेको नेपाल लिग–२ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नामिबियालाई पछि पारेको नेपालले १५ खेलबाट १५ अंक जोडेको छ । नेपालले अहिलेसम्म १५ खेलमध्ये सातमा जित र सात खेलमा हारको सामना गरेको छ । नेपालले एक खेल भने बराबरी खेलेको छ ।