काठमाण्डौं-मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षामा दलले २४ सै घण्टा कार्यकर्ता खटाएका छन् । स्रोतका अनुसार उम्मेदवार र अधिकांश नेता–कार्यकर्ता दोस्रो चरणको निर्वाचन प्रचारमा हिँडेका छन् । उनीहरूले भ्रातृ संगठनका कार्यकर्ता कुरुवा छाडेका हुन् । कार्यकर्ताले सुरक्षाकर्मीझैं एकछिन नछाडेर मतपेटिका कुर्दै आएका छन् । खाना खानसमेत पालैपालो जाने गरेको उनीहरूले बताए ।


ADVERTISEMENT


दशरथचन्द नगरपालिका कार्यालयका ६ वटा कोठामा मतपेटिका थन्क्याएको छ । ताला र सिल लगाएको ढोका बाहिर सुरक्षाकर्मीको टोली खटिएको हुन्छ । छेउको अर्को कोठामा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ता बस्ने प्रबन्ध मिलाइएको छ । एउटै कोठामा एक छेउ लोकतान्त्रिक र अर्को छेउ वाम गठबन्धनका कार्यकर्ता सुत्छन् ।


ADVERTISEMENT

# # #


चिसो बढ्न थालेपछि वाम गठबन्धनले कुरुवा बसेका कार्यकर्ताका लागि हिटरको व्यवस्था गरेको छ । लोकतान्त्रिकका भने सिरककै भरमा छन् । दुवै गठबन्धनका कार्यकर्ता आफ्नै बेडमा सुते पनि एउटै हिटर ताप्छन् । ‘सुरक्षाकर्मीझैं रातभर ड्युटी बस्छौं,’ राप्रपाकै अर्का कार्यकर्ता मनिदत्त भट्टले भने, ‘चिसो हुँदा एउटै हिटर ताप्छौं, कुरुवा सबै मिलेर बस्छौं ।’

एमाले र माओवादी कार्यकर्ता मिलेर आलोपालो गर्छन् । लोकतान्त्रिक गठबन्धनबाट राप्रपा कार्यकर्ता मात्रै कुरुवा बसेका छन् । कांग्रेस कार्यकर्ता दिउँसो आउजाउ गरे पनि कुरुवा नबस्ने गरेको टमटाले बताए । मतपेटिका सुरक्षामा बस्ने कार्यकर्तालाई खाना र चिया–खाजाको व्यवस्था मिलाइएको छ ।

उम्मेदवारले बेलाबेलामा सुरक्षा अवस्था र व्यवस्थापनबारे सम्पर्क गर्दै आएको कुरुवा बसेका एमाले कार्यकर्ता तर्कसिंह ठगुन्नाले बताए । ‘प्रचारमा खटिएजस्तै पार्टीले कुरुवा राखेकाले मतपेटिका सुरक्षामा बसेका छौं,’ उनले भने, ‘दुवै दलका कार्यकर्ता मिलाएर पालो फेर्छौं, कोठामा दुवै गठबन्धनका प्रतिनिधि मिलेर बस्छौं ।’

एक निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक र वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा थियो । १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेको बैतडीमा ६७ हजार ३ सय ४३ मत खसेको थियो । १ सय ८२ मतदान केन्द्रमा ५ सय ४६ मतपेटिका प्रयोग भएका थिए ।