काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्हालिएर जनभावनाअनुसार अघि बढ्न निर्देशन दिएका छन् । पाँच वर्षसम्म नेकपा (एमाले) नेतृत्वको सरकारले निरङ्कुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको बताउँदै उनले अबको नेतृत्वले नागरिकलाई सरकारको प्रत्याभूति गराउनुपर्ने बताए ।


ADVERTISEMENT


हेटौँडामा कांग्रेसले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरीतका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रति नै बिच्किएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


“पछिल्लो समय तीनै तहको सरकारमा एमालेको नेतृत्व हाबी थियो । केन्द्र, प्रदेश र स्थानीय तहको सरकारमा एमालेले नेतृत्व गर्यो । लामो समयपछि भएको स्थानीय निर्वाचन र स्थिर सरकार गठन भयो भनेर जनता आशावादी भएका थिए । तर तत्कालीन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा, निराशा र आक्रोशमा बदलियो । दुई पटकसम्म संसद् विघटन गरियो । संविधानमाथि नै प्रहार भयो । नागरिकका अधिकार खुम्च्याउने प्रयास भयो । जसका कारण जनताको राजनीतिक दलप्रतिको धारणा नै गलत बन्दै गएको छ,” उनले भने ।

निरङ्कुशताको सजाय जनताले स्थानीय निर्वाचनमा उनीहरूलाई दिइसकेको बताउँदै महामन्त्री थापाले भने, “केही स्थानीय तहमा बाहेक केन्द्र, प्रदेश र स्थानीय स्तरमा अब एमालेको सरकार छैन । उनीहरूले सजाय पाइसके । अब आ-आफ्नो स्थानबाट जनहितका जिम्मेवारी पूरा गर्ने अवसर हामीले पाएका छौँ । अब हामी एमालेलाई दोष दिएर बस्ने होइन, जनताको मनोभावनाअनुरुप काम गर्ने हो ।”

आफ्ना काम जनतासँग जोड्न आग्रह गर्दै उनले भने, “हामीलाई अब छुट छैन । जनताले छुट दिने छैनन् । सङ्कल्प गरौँ, पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गरौँ । संविधानले नागरिकलाई दिएको अधिकार कटौती होइन, अझै बढाऔँ । स्थानीय जनताको हितमा काम गरौँ ।”

उम्मेदवार दोहोर्याउने र मतदाताको मनोभावना विपरीतको उम्मेदवार पार्टीले अघि सार्दा नसोचेको ठाउँमा पराजय व्यहोर्नु परेको समेत थापाले बताए।

थापाले बागमती प्रदेशको राजधानी हेटौँडामा एमालेको विरासत ढालेर उदाएको गठबन्धनले जनभावना अनुरुपको काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित प्रमुख मीना लामा, उपप्रमुख राजेश बानियाँ, कांग्रेसका जिल्लास्तरका नेताहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।