काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।


ADVERTISEMENT


बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र क्रिकेटरहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ज्यापले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने सहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी लगायत युवा क्रिकेटरहरु सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई एक वर्षको लागि खेल सामग्री प्रायोजन गर्नेछ ।


ADVERTISEMENT

# # #


सम्झौता पछि खेलाडीहरुले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्। खेलाडीसंगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन। ज्यापले यसअघि महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई समेत प्रायोजन गरेको थियो।

सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने जनाए । उनले भने, ‘नेपाली क्रिकेटसंग यात्रा सुरुवात गर्न पाउँदा उत्साहित छु। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक छ। यो गतिले नेपाली टिम छिट्टै थप उचाईंमा पुग्नेछ। त्यसैले क्रिकेटरहरुलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौं।’

कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटको सामग्रीहरु स्तरीय रहेको बताउँदै युवा क्रिकेटरहरुलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘ज्यापको ब्याट पहिलो पटक प्रयोग गर्दा नै यसको स्तर र सन्तुलनले मलाई प्रभावित बनायो। त्यसैले म सबैलाई ज्यापको सामग्री प्रयोग गर्न सुझाव दिन्छु।’ यस्तै विकेटकिपर ब्याट्सम्यान भण्डारीले ज्यापको क्रिकेट अभ्यास गर्ने क्रममा प्रयोग गरेको र निकै स्तरीय लागेको प्रतिक्रिया दिए।

कार्यक्रममा ज्याप नेपालका प्रतिनिधि तथा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।