काठमाडौँ– मंगलबार सेन्ट लरेन्सका एक शिक्षकले छात्रामाथि यौन दूव्र्यवहार भएको भन्दै विद्यार्थीहरुले गरेको आन्दोलनप्रति कलेज प्रशासनले मुख खोलेको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले उक्त घटनासम्बन्धि आफुहरुलाई गत शुक्रवार नै जानकारी भएको बताए । ११ कक्षाका छात्राहरुमाथि भएको दूव्र्यवहारसम्बन्धि कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको भन्दै उनले घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पिडित छात्राहरुसंग पनि जानकारी लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार : शिक्षकद्वारा छात्रामाथि करणीको प्रयास भएको भन्दै विद्यार्थीद्वारा आन्दोलन
‘तत्पश्चात् पिडित छात्राहरु र अभिभावक समेतसंग मिति २०७९।०२।०९ गते सोमबारको दिन घटनाको सम्बन्धमा छलफल गरेका थियौं । सो छलफल लगत्तै सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई वर्खास्त गर्ने निर्णय गरी सकेको छ । यसै घटनाका सम्बन्धमा पिडित छात्राहरुको तर्फबाट आजै महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दर्ता गराई सक्नु भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
साथै आरोपित व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जानकारी दिदैँ उनले थप भनेका छन्, ‘कानूनी कारवाही प्रक्रिया अगाडी बढाई सकेको छ । यस घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरुले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको छ ।’
सम्बन्धित समाचार : अपडेट : छात्रालाई दूर्व्यवहार गरेको भनिएका आरोपित शिक्षक पक्राउ
घटनाको सम्बन्धमा कलेज व्यवस्थापनको तर्फबाट दुःख मनाउ गर्दै प्रचार्य महर्जनले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
दोषी उपर कडा भन्दा कडा कारवाहीको लागि अनुसन्धान प्रक्रियामा सहयोग गरी दिनुका लागि कलेजका सम्पुर्ण विद्यार्थी तथा अभिभावकलाई उनले अनुरोध पनि गरेका छन् ।