काठमाडौं – वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा हालसम्म ६९७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेस पहिलो दल बनेको छ।


ADVERTISEMENT


कांग्रेसले हालसम्म ३०९ पालिकामा प्रमुख जितेको छ भने २८३ स्थानमा उपप्रमुख जितेको छ । कांग्रेसले अझै १८ स्थानमा अग्रता कायम गरिरहेको छ।


ADVERTISEMENT

# # #


त्यस्तै, २०७४ सालमा पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रो दलमा सीमित भएको छ । एमालेले १८८ स्थानमा पालिका प्रमुख जितेको छ भने २१६ स्थानमा उपप्रमुख जितेको छ।

माओवादी केन्द्रले १२० स्थानमा प्रमुख जितेको छ। उपप्रमुखमा १२३ स्थानमा जित हात पारेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले २६ स्थानमा जित हात पारेको छ । एमालेबाट विभाजन भएर बनेको दल एकीकृत समाजवादीले पहिलो पटक भाग लिएको स्थानीय निर्वाचनमा १७ स्थानमा प्रमुख र २१ स्थानमा उपप्रमुख जितेको छ।

त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकामा प्रमुख र ९ पालिकामा उपप्रमुख जितेको छ । राप्रपाले ४ र अन्य दलले २३ स्थानमा जित हात पारेका छन् ।

अहिले पनि महानगर, उपमहानगर र मधेश प्रदेशका केही जिल्ला लगायतका क्षेत्रमा मतगणना चलिरहेको छ। महानगरमा काठमाडौं,पोखरा, भरतपुर, वीरगञ्ज र ललितपुरमा मतगणना भइरहेको छ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् भने भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन् । त्यस्तै, ललितपुरमा नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले अग्रता लिइरहेका छन् भने वीरगञ्जमा जसपामा राजेशमान सिंहले अग्रता कायम गरेका छन्।

त्यस्तै, धरान उपमहानगरपालिका र धनगढी उपहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्।