बैतडी – बैतडी जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिका यसअघि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । यो नगरपालिका वर्तमान कांग्रेस जिल्ला सभापती चतुर बहादुर चन्द, पूर्व सभापती तथा पूर्व मन्त्री नर बहादुर चन्द, विनयध्वज चन्द, नरेन्द्रसिंह थापा, शिवराज भट्ट लगायत केहि दिग्गज नेताहरुको नगरपालिका हो । यस नगरपालिकामा २०७४मा समेत कांग्रेसले चुनाव जित्दै पूर्ण बहुमत ल्याएको थियो । तर अहिले भने कांग्रेस उपमेयर र ४ वडामा सिमित भएको छ ।


ADVERTISEMENT


अहिले दशरथचन्द नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेले नगर प्रमुख सहित ७ वडा जितेको छ । यसैगरी जिल्लाको दोश्रो सहर (मध्यपहाडी लोक मार्गको नमुना सहर) समेत रहेको पाटन नगरपालिका नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सांसद, पुर्व मन्त्रि, तथा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीको नगरपालिका हो । यस नगरपालिकामा एमाले हारेको छ । सत्ता साझेदार गठबन्धनले यस नगरपालिकामा ६ वडा सहित मेयर उपमेयरमा विजय हासिल गर्दा एमाले ४ वडामा सिमित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज पुरन सिंह दयालको नगरपालिका मेलौलीमा एमाले पराजित भएको छ । यहाँ नेकपा माओवादी केन्द्रले प्रमुख पदमा विजय हाँसिल गरेको छ ।


ADVERTISEMENT

# # #


जिल्लाको पुर्चौडी नगरपालिका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजय सुन्दर) ले यसअघि २०७४को निर्वाचनमा जित हासिल गरेको पुर्चौडी नगरपालिका यसपालि गुमाएको छ । पुर्चौडीमा नेपाली कांग्रेसले मेयर, उपमेयर सहित स्पष्ट बहुमत ल्याएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका एमाले अध्यक्ष सुरेन्द्र पालको पालिका हो । तर यहाँ एमालेमै रहेका युवाहरुले विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएरै विजय हासिल गरेका छन् । पार्टी संग टिकटका लागि प्रयास गर्दा नपाएका राष्ट्रिय युवा संघका तत्कालिन प्रदेश अध्यक्ष सन्तोश जोशी अध्यक्ष बनेकाछन् भने, यज्ञ भट्ट, प्रकाश मणि भट्ट लगायतका युवाहरु वडामा विजय भएका छन् ।

यसअघि २०७४मा अध्यक्ष,उपाध्यक्ष सहित बहुमत वडा जितेको एमाले २ वडामा सिमित भएको छ भने उपाध्यक्ष सहित २वडा नेपाली कांग्रेसले जितेको छ । यसैगरी नेकपा (एकिकृत समाजवादी) का जिल्ला इन्चार्ज परमानन्द भट्ट र माओवादी नेता तथा प्रदेश सांसद प्रेम प्रकास भट्ट (आदित्य)को सुर्नया गाउँपालिकामा पराजय भएको छ । यस पालिकामा यी दुवै दलले गठबन्धन समेत गरेका थिए । तर अध्यक्ष र ३वडा एमाले–राप्रपा गठबन्धनले जित्दा ४वडामा कांग्रेस र १ वडामा माओवादीले जित हासिल गरेको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष महादेव भट्टको दशरथचन्द नगरपालिकामा पार्टीको अवस्था नाजुक देखिएको छ । यो नगरपालिका पुर्व प्रदेस मन्त्रि समेत रहेकी एकिकृत समाजवादी नेतृ मायाँ भट्टको नगरपालिका समेत हो । एकिकृत समाजवादीले जिल्लाका एकै वडामा समेत विजय हासिल गरेको छैन् ।

तर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको दोगडाकेदार गाउँपालिकामा भने नेकपा एमालेले स्पष्ट बहुमत सहित विजय हासिल गरेको छ । ८ वडा रहेको यस पालिकामा ६वडा सहित अध्यक्ष,उपाध्यक्ष एमालेले जितेको छ । जिल्ला उपसभापति खगेन्द्र धामीको सिगास गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । पञ्चेश्वरमा एमालेका प्रमुख नेता गोरख बहादुर चन्द रहेकोमा त्यहाँ एमालेले अध्यक्ष,उपाध्यक्ष सहित बहुमत हुनेगरी वडामा जित हासिल गरेको छ ।

शिवनाथमा कांग्रेस प्रदेश सदस्य तेज बहादुर चन्द तथा युवा नेता कर्ण साउदको पालिकामा कर्ण साउद स्वय अध्यक्ष बनेकाछन् । माओवादी केन्द्रका प्रमुख नेता आफै रहेको मेलौलीमा भिम बहादुर चन्दले मेयरमा विजय हासिल गरेकाछन् । पाटनमा कांग्रेस–माओवादी गठबन्धनको विजय भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजकको पाटनमा युवा नेता कमल बोहरा नगर उपप्रमुखमा विजय हुदाँ वडा न १,८ र ९मा समेत माओवादीले विजय हासिल गरेको छ ।

बैतडीमा टिकट वितरणमा कमजोरी भएका कारणले ठुला नेता आफ्नो पार्टीलाई जिताउन असफल भएको चर्चा सुनिन्छ । केहि पालिकामा भने, पार्टीको संगठन कमजोर र आफ्नै भनिएका मतदातालाई जोगाउन नसक्दा हार व्यहोरेको प्रष्ट देखिन्छ ।

तर पार्टी नेताहरुले भने आफु निकटका व्यक्तिलाई टिकट दिएकाले हारेको कुरा स्वीकार गर्दैनन् । जिल्लाका ४पालिकामा एमाले, ४मा कांग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्रले प्रमुख पदमा विजय हासिल गरेकाछन् ।