काठमाडौँ– स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ ।


ADVERTISEMENT


बिहीबार सम्पन्न मतगणनामा सो नगरपालिकाको प्रमुख पदमा घनश्याम गिरी १५ हजार ४७५ मत प्राप्त गरी विजयी भएका थिए। सो नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख गिरीलाई निर्वाचन अधिकृत सिर्जना थपलियाले प्रमाणपत्र वितरण गरेकी हुन् । सो अवसरमा निर्वाचन अधिकृत थपलियाले वडाध्यक्षसहित अन्य सदस्यलाई पनि निर्वाचित प्रमाणपत्र वितरण गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा नवनिर्वाचित प्रमुख गिरीले आफ्नो पहिलो कार्यकालमा अधुरा रहेका विकासका योजना पूरा गर्दै ‘उत्पादन रोजगार र बजारीकरण ः प्रविधियुक्त सुशासन’ भन्ने नाराका साथ नयाँ काम थालनी गर्ने जानकारी दिए । उनले भने, ‘म राजनीतिक सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा काम गर्नेछु, मलाई अमूल्य मत दिइ दोस्रो कार्यकालका लागि पुनःप्रमुख पदमा निर्वाचित गर्नुहुने नगरवासीलाई धन्यवाद दिन्छु, नगरवासीको सुझाव, सल्लाह र भावनानुसार अगामी विकासका काम गर्नेछु ।’

सो अवसरमा निर्वाचन अधिकृत थपलियाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मीलगायत नगरवासीलाई धन्यवाद दिए । कार्यक्रममा चन्द्रागिरिका कार्यकारी अधिकृत नीरज पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कर्मचारीका तर्फबाट साथ र सहयोग गर्ने विश्वास दिलाए।

प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित गिरी कांग्रेसका तर्फबाट पुनःप्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् भने वडा नं १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल रहेका छन् ।

यसैगरी नेकपा (एमाले) का तर्फबाट उपप्रमुखमा वसन्ती श्रेष्ठ निर्वाचित भएकी छन् । सो पार्टीका तर्फबाट वडाध्यक्षमा वडा नं ६ मा सञ्जय सिग्देल, वडा नं १० मा शिवकुमार महर्जन, वडा नं १२ न्हुच्छेबहादुर महर्जन र वडा नं १४ मा राजभाइ महर्जन निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट वडा नं २ मा भाइकृष्ण तामाङ र वडा नं ५ मा राजेन्द्र महर्जन निर्वाचित भए ।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकामा यस पटकको निर्वाचनमा ३६ हजार ७१२ ले मतदान गरेका थिए । यसपटकको निर्वाचनमा २२ मतदानस्थल र ५६ मतदान केन्द्र तोकिएको थियो । रासस