काठमाडौँ – काठमाडौँमा भएको एकदिवसीय सिरिजको अन्तिम खेलमा टेस्ट राष्ट्रय जिम्बाब्बेको ‘ए’ टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज कब्जा गरेको छ । नेपालले टेस्ट राष्ट्रको ‘ए’ टोलीलाई हराउँदै पहिलो पटक एकदिवसीय सिरिज जित्दै इतिहास रचेको हो ।


ADVERTISEMENT


वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भिजेपछि ३३ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको जिम्बाब्बेले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.१ ओभरमा १७ बल बाँकी छँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गरे । त्यसक्रममा कुशलले ६१ बलमा ७ चौका र ४ छक्का ठोक्दै ८४ रनको शानदार इनिङ खेले । उनले पहिलो विकेटका लागि आशिफ शेखसँग मिलेर महत्वपूर्ण ७३ रनको साझेदारी गरेपछि नेपाल जिततर्फ उन्मुख भएको थियो । त्यसक्रममा आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर आउट भए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले ४३ बलमा ४ चौका र ३ छक्कासहितनटआउट ६० रनको योगदान दिए । उनले विनोद भण्डारीसँग पाँचौँ विकेटका लागि ५८ बलमा नटआउट ८४ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । विनोद भण्डारी २६ बलमा ३ चौकासहित २८ रन बनाएर नटआउट रहे । सुनिल धमला ६ र रोहित पौडेल शून्य रनमा आउट भए ।

जिम्बाब्बेका लागि ब्राण्डन माभुताले ३ विकेट लिए भने ब्राड इभान्सका नाममा १ विकेट रह्यो ।

यसअघि जिम्बाब्बे ‘ए’का लागि टाडिवानासे मरुमानीले अर्धशतकीय इनिङ् खेले । उनले ३१ बलमा ७ चौका र १ छक्का ठोक्दै ५० रन बनाए । यस्तै कुट्जाई मौन्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ तथा रोय काइयाले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडे ।

यस्तै कप्तान टोनी मनयोंगाले १२ बलमा २ चौका र २ छक्कासहित २४, सेफास जुवाओले १८ बलमा २ छक्कासहित १६ रन तथा लुके जोग्वेले १५ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे ।

नेपालका लागि किशार महतोले एक्लैले जिम्बाब्बे ‘ए’का ५ विकेट चट्काए । ७ ओभर बलिङ गरेका उनले १ मेडेन राख्दै ४३ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे ।

यसअघि सिरिजको पहिलो खेलमा जिम्बाब्बे ‘ए’ ले तीन विकेटले जितेको थियो भने दोस्रो खेलमा नेपालले ९ विकेका शानदार जित हात पारेको थियो ।