काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) नेपाली कांग्रेसले ल्याएको नीति र लागु गरेको कार्यक्रमको साउँब्याज खाएर बस्ने पार्टी भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महतले कांग्रेसले देशलाई ५६ प्रतिशत गरिबीबाट १७ प्रतिशतमा झारेको दाबी गरे । उनले कांग्रेसकै कारण २ प्रतिशतबाट देशको आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुगेको पनि बताए ।


ADVERTISEMENT

# # #


उनले सामुदायिक वनको अवधारणा ल्याएर नांगो पहडालाई फेरि हराभरा बनाउने काम पनि कांग्रेसले नै गरेको जिकिर गरे । “कांग्रेस नीति र कार्यक्रम नभएको पार्टी भनेर ओलीजी भन्नुहुन्छ । हामीले ४६ सालपश्चात् ल्याएको नीति र लागु गरेको कार्यक्रमको ब्याज खाएर बस्ने पार्टीचाहिँ एमाले हो,” उनले भने ।

कांग्रेसकै कारण देशले आर्थिक उदारीकरणको नीति लिएको भन्दै उनले उद्योग, व्यवसाय नेपालमा फस्टाउनुको कारण पनि कांग्रेस भएको बताए । “उहाँहरूमा कांग्रेसको विरोध गर्ने आधार कुनै छैन । फ्याक्ट्री बन्द भयो भनेर भनिरहनुहुन्छ, बाँसबारी छाला उद्योग बन्द भयो, अन्य छाला उद्योग खुल्यो । देशमा हजारौँ इँटा कारखाना छन् नि,” उनले भने, “विदेशी ऋण यति ज्यादा थियो, त्यसलाई मुक्त गर्ने पार्टी कांग्रेस हो । उहाँहरू प्रचार गर्न सिपालु हुनुहन्छ, हामी यर्थाथको राजनीति गर्छौँ ।”

महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हावा र उडन्ते गफ मात्र गरेको आरोप लगाए । “भूकम्पको समयमा कांग्रेसले कसरी सहयोग जुटायो, कोभिडको व्यवस्थापन जनतालाई कसले गर्‍यो, उहाँले गर्नुभयो रु ठूला कुरा गर्नुहुन्छ,” उनले भने, “खोप कसले सुनिश्चित गर्‍यो ? उहाँहरू कमिसनमा लिप्त भएको कसलाई थाहा छैन । उहाँको पालामा कस्ताकस्ता काण्ड भयो, भनेर साध्यै छैन । नाम लिएर पनि साध्य छैन ।”

उनले ‘उत्तरबाट रेल ल्याउने भनेको होइन ?’ भन्दै प्रश्न गरे । “रेलको कुरा कता हो कता, अस्ति चिनियाँ विदेशमन्त्री आउँदा प्रम देउवासँग सर्वेक्षण गर्न सहमति गर्नुभयो,” उनले भने, “कुरा गर्न सजिलो छ । कुराले जे पनि जोडिन्छ ?” ओलीको समयमा अन्तर्राष्ट्रिय सम्बन्ध बेहाल भएकाले कसैले विश्वास गर्ने वातावरण पनि नबनेको महतको आरोप छ ।