काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सम्म मात्र हालको गठबन्धन कायम नरहने बताएका छन् । शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका हुन् ।


ADVERTISEMENT


उनले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको दावी गरे । उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे । आफूबाहेक अरुलाई काम गर्न नदिने र आफू विरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक पटक संसद् भङ्ग गरेको उनले आरोप लागए ।

गठबन्धन असफल बनाउन पटक पटक गरिएको प्रयास निरर्थक भएको बताउदै देउवाले चुनावी मैदानबाट सबैलाई जवाफ दिने बताए । उनले तनहुँमा गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन पनि आग्रह गरे । तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । दलहरूको आ–आफ्नै अडानका कारण जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन ।