रोल्पा – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले एमाले अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन्।
उनले ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप समेत लगाए। मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत् दण्डित गर्ने उनको भनाइ थियो।
नेता पुनले आसन्न स्थानीय तह निर्वाचनलाई संविधान च्याग्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिए। शुक्रबार गृहजिल्ला रोल्पाको गंगादेवमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिहरूसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ। आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन। स्थानीय तहमा पराजित हुँदै हुनुहुन्छ उहाँको दक्षिणपन्थी सोचका कारणले। हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौँ। संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरूलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रूपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’
नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौँ सहिदहरूको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे। एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको उनको भनाइ छ।
अन्तर्यमा ओली कमजोर भएको त्यस्तो अभिव्यक्ति दिएको आफूहरूले बुझेको भए पनि कमल थापा, परिवार दल र नेपाली कांग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा जनताले समेत बुझ्ने मौका पाएको पुनले बताए।
‘उहाँ (ओली) पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ। कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ। कांग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एकजना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ’, पुनले भने, ‘उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो। अहिले एक(एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्याउनका लागि कोसिस गर्दै हुनुहुन्छ।’
पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी उनले गरे। ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप लगाए।
नेता पुनले भने, ‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ। बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौँ। ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न। हिजो यो कुरा हामी मात्र बुझ्थ्यौँ, तर आज आमजनताले चिन्ने मौका पाएका छन्।’
ओली र एमालेको मुल नेतृत्व दक्षिणपन्थी यात्रामा रहेको भन्दै उनले संविधान च्याततुच पर्ने, व्यवस्था कमजोर पार्ने र अन्ततः पुरानै व्यवस्थामा फर्काउने उद्देश्य ओलीले राखेको बताए।
‘ओलीको संगत राजावादी र दक्षिणपन्थीहरूसँग छ। प्रतिगामीहरूसँग छ। ओली निरंकुश र प्रतिगामी हो भन्ने तथ्यहरुले पुष्टि गरेको छ। यो उहाँका व्यवहार र संगतहरूले पुष्टि गरेको छ’, पुनले भने।
नेता पुनले रोल्पाको स्थानीय कांग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावनाविपरीत एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेकोमा आपत्ति जनाए।
आफूसमेत संलग्न पाँच दलीय कार्यदलले ०७४ को निर्वाचनमा सत्ता गठबन्धनका दल निर्वाचित भएका स्थानीय तह सोही दलले लिने र त्यसमा सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने तर गठबन्धन बाहिर तालमेल नगर्ने निर्णय गरेको स्मरण गर्दै पुनले रोल्पामा भने एमाले र विप्लव समूहसँग कांग्रेसले गठबन्धन गरेको बताए।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यदल संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको भावनाविपरीत अरू दलसँग तालमेल नगर्न दिएको निर्देशन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले लत्याएको उनको भनाइ थियो।
‘यहाँका कांग्रेसका साथीहरूले राजनीतिक नैतिकता छाडेर अनैतिक काम गर्नुभएको छ’, पुनले भने, ‘राजनीति एक दिन गर्ने कुरा होइन। राजनीतिक नैतिकताअनुसार नचल्नेलाई रोल्पाली सचेत जनताले जनताले दण्डित गर्नेछन्। तपाईंहरू पछि पछुताउनुहुनेछ।’
पुनले आफूहरूविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहले जिल्लाभर गठबन्धन गरेको भन्दै त्यसलाई सहर्ष स्वीकार गरिने बताए। जिल्लाका १० वटै पालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने दाबीसमेत उनले गरे।
पुनले निर्वाचनमा सहभागी हुनुलाई दक्षिणपन्थी संशोधनवादी र गद्दारीको बाटो भन्ने विप्लव समूह निर्वाचनमार्फत् मुल प्रवाहमा समाहित हुनु खुसीको कुरा भएको बताए। विप्लव समूह संविधान, गणतन्त्र र संघीयताको बाटोमा भएको भन्दै उनले खुसी व्यक्त गरे।
पुनले निर्वाचनमा सहभागी भएकामा विप्लवलाई स्वागत पनि गरे।
उनले भने, ‘हामीले स्थानीय सरकार र संघीयता क्रान्तिकारी एजेण्डा भनेका थियौँ। हिजो तपाईंहरूले यसलाई दक्षिणपन्थी भन्नुभयो । गद्दारी र संशोधनवादको बाटो भन्नुहुन्थ्यो। तर, आज यही बाटोमा आउनुभएको छ। खुसी लागेको छ। म विप्लवजीलाई यो बाटोमा स्वागत गर्दछु।’
पुनले ०७४ को आमनिर्वाचनमा चुनाव प्रचारमा जाँदा विप्लव समूहले हत्या गर्ने उद्देश्यले बम हानेको स्मरण गरे। गाडीमा बम लागेर क्षति भए पनि आफू संयोगले बाँचेको सुनाउँदै उनले त्यतिबेलै आफूले कुनै बेला विप्लव चुनावमा आउने र त्यहाँबाट चोइटिएको असन्तुष्ट समूहले उनीमाथि नै बम हान्न सक्ने कुरा सँगै भएका नेताहरूलाई सुनाएको बताए।
‘मैले त्यतिबेला भनेको थिएँ राजनीतिमा धेरै चक्रहरू चलिराख्छ। आरोह अवरोह चलिरहन्छ। अबको पाँच वर्षपछि विप्लव गलत बाटो छाडेर चुनावमा आउनुहुन्छ। विप्लव चुनावमा आउने, उहाँबाट सानो चोइटो छुटिएर बम हान्छ’, उनले भने, ‘ कहिलेकाहीं भविष्यवाणी सही हुँदो रहेछ। आज विप्लवजीहरू बम हान्न छाडेर चुनावमा आउनुभएको छ। फेरि धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वली विप्लवलाई कारबाही गरेर बहिस्कार गर्नतिर लाग्नुभएको छ। मलाई लाग्छ अब मंसिरमा चुनाव हुन्छ। उस्तै परे विप्लवजी रोल्पामा चुनाव लड्न आउनुहुन्छ । नभए कोही विप्लव समूहका साथी चुनाव लड्नुहुन्छ। अनि उहाँसँगै चोइटिएको समूह आएर उहाँलाई बम हान्नुहुन्छ। त्यतिखेर हाम्रो पालो नै आउँदैन।’
पुनले कसैको खुट्टा तानेर र खोइरो राजनीति गर्न नसकिने भन्दै नीति, सिद्धान्त र विचारको राजनीति गर्न विप्लवलाई सुझाए।