काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गर्दै संविधान, गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउन कायम भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावीसभालाई आज यहाँ सम्बोधन गर्दै उनले गठबन्धनलाई लामो समयसम्म लैजाने, देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT


गठबन्धन देश, जनता र हितमा रहेको उल्लेख गर्दै उनले वामशक्ति, प्रजातान्त्रिक शक्ति मिल्दा परिवर्तनका ठूलठूला इतिहास कायम भएको र जनताको अधिकार प्राप्त भएको बताए ।


ADVERTISEMENT

# # #


शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याउन र संविधानलाई थप कार्यान्वयन गर्नका लागि पनि गठबन्धन जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताए । उनले भने, “कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ ।”

उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए। अध्यक्ष प्रचण्डले पुरुषले देशमा धेरै राज गरे पनि ठूलो परिवर्तन गर्न नसकेको र उनकै भाषामा ‘ठूलो लछारपाटो’ लगाउन नसकेको स्पष्ट पारे ।

महिलालाई कार्यकारी भूमिका दिइएको स्थानमा भ्रष्टाचार र अनियमिततासमेत कम भएको उनको भनाइ थियो । उनले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा प्राकृतिक रहेको स्पष्ट पारे । अध्यक्ष दाहालले विगतमा वाम गठबन्धनको अभ्यास भएको भए पनि हालको जस्तै वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त देखिएको स्पष्ट पारे ।

अध्यक्ष दाहालले भने, “वाम–लोकतान्त्रिक गठबन्धन नै ‘नेचुरल’ थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामको सजिलो हो कि भनेर लागियो तर त्यो होइन रहेछ ।”

कांग्रेस र कम्युनिष्टबीच बेमेल हुँदा मुलुकले कुनै उपलब्धी हासिल गर्न नसकेको उनको भनाइ थियो । “कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिष्ट मिलेपछि प्रजातन्त्र पुनःस्थापना पनि भयो, शान्तिप्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो । यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो । अहिलेको गठबन्धन पनि यही आधारमा बनेको हो”, उनले भने। कांग्रेस कार्यकर्ताले रुखबाहेक हँसिया हथौडामा र माओवादी कार्यकर्ताले हँसिया हथौडाबाहेक रुखमा भोट हाल्दिन भन्न नहुने उनको भनाइ थियो ।

उनले भने, “वाम गठबन्धन र पार्टी एकता गरेर जुन स्थायित्व र विकासको सपना देखेका थियौँ त्यो सपना तीन वर्ष पुग्दा नपुग्दै चकनाचुर भयो । केपी ओलीलाई हामीले ठूलो समर्थन गरेर नायकको भूमिकामा लगेका थियौँ तर, एकताको दुई हप्तादेखि नै ओलीबाट धोका पायौँ”, उनले भने।

गठबन्धनलाई नयाँ उचाइमा पुर्याउन आफ्नो ठूलो मेहनत परेको उल्लेख गर्दै उनले यसको मूल्य र मान्यताभन्दा बाहिर जाने छुट कोही कसैलाई नभएको बताए । काठमाडौँ महानगरलाई रूपान्तरण गर्न सकिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्दै उनले ऐतिहासिक परिवारसँग जोडिएको व्यक्तित्वलाई साझा उम्मेदवारको रूपमा अगाडि सारिएको अध्यक्ष दाहालको भनाइ थियो । रासस