चितवन – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


बिहीबार भरतपुरमा पाँच दलीय गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भरतपुरवासी र काँग्रेसले रेणु दाहाललाई जिताउनु कर्तव्य भएको जिकिर गरे । उनले रेणुलाई हराए जनताले नै प्रश्न गर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हरायो भने यहाँका जनताले के भन्लान् ? भरतपुरका जनताले के भन्लान् ?’ माओवादीलाई भोलि काँग्रेसलाई छाड्न भन्ने आश्वासन दिँदै उनले अहिले माओवादीलाई सहयोग गर्न आग्रह गरे ।

उनले भरतपुरमा रेणुले जितिसकेकाले काँग्रेसले कुनै बखेडा झिक्न आवश्यक नरहेको टिप्पणी गरे । उनले भने, ‘रेणु हुँदैन भन्नुहुन्छ, यस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त यहाँ ? उहाँ जितिसक्नुभो, जित्नुहुन्छ । त्यसकारण हाम्रो पार्टीले कुनै बखेडा झिकिराख्नु आवश्यक छैन ।’

उनले रेणुले गरेको विकासले गर्दा भरतपुरको जग्गा काठमाडौँको भन्दा महंगो हुन थालेको समेत व्यंग्य गरे । उनले भने, ‘कहीँ पनि बेरुजु नभएको नगरपालिकाको मेयर हो उहाँ । बेरुजु पूरा फर्स्यौट भएको छ । त्यस्तै काम पनि, ठाउँठाउँ, हरेक गल्लीमा पिच भएको छ, त्यसले गर्दा यहाँ भाउ बढिसक्यो । काठमाडौँ भन्दा महंगो हुन थालिसक्यो यहाँको जग्गा ।’

प्रधानमन्त्री देउवाले रेणुले स्मार्ट सिटी बनाउने घोषणा गरेको, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन पहल गरेको, अन्तर्राष्ट्रिय सम्मेलन हल बनाउन खोजेको कुरा सानो कुरा नभएको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनेको खण्डमा, अन्तर्राष्ट्रिय सम्मेलन हल बनेको खण्डमा भरतपुर अत्यन्त महत्वपूर्ण ठाउँ हुनेछ ।’

उनले भरतपुर पर्यटकीय केन्द्र भएकाले अन्तर्राष्ट्रिय विमानस्थल बन्नबाट कसैले रोक्न नसक्ने समेत बताए । उनले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन आवश्यक भएको बताए । उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको र त्यसमा फँसेमा काँग्रेस नै खत्तम हुने बताए ।