काठमाडौं – नेपाल सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा नियुक्त गरेका धीरजप्रताप सिंह प्रहरीका विविध काममा विशिष्ठ मानिन्छन् ।


ADVERTISEMENT


मिलनसार एवम् मृदुभाषी सिंह नेपाल प्रहरीको सेवामा ११ चैत २०४९ मा प्रवेश गरेका हुन् । सेवा प्रवेश गर्दा नै नम्बर एक बन्न सफल सिंहले  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख भएरसमेत काम गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


महानिरीक्षक पदमा नियुक्त भएसँगै गृह मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाणले सिंहको कार्यकाल सफल भएको चर्चा गरे। यसबाट पनि सिंहको कार्यसफलता कस्तो रह्यो भन्ने झल्किन्छ।

गृहमन्त्रीले भने, ‘हाम्रो कारणले कहिलेकाहीँ विवादमा आउनुभयो होला तर आफ्नो कार्यक्षेत्र र जिम्मेवारीका कारण कुनै पनि विवादमा आउनुभएन।’

बढुवा हुने क्रममा पनि सिंहले प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवासम्म अग्रता कायम राख्न सफल भए । २०६१ मा डीएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भएका थिए । २०६९ मा एसपी हुँदा पनि सिंह पहिलो नम्बर नै बन्न सफल भए। सँधै पहिलो हुने सिंहले यसपटक पनि पहिलो हुने अवसर पाएका छन् ।

सिंहलाई बढुवा हुने क्रममा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा हुँदा भने   दोस्रो नम्बरमा पारियो । तत्कालीन सरकारले सिंहभन्दा दुई ब्याचपछिका विश्वराज पोखरेललाई अगाडि बढाएकाले सिंह पछि परेका थिए । अहिलेको सरकारले विगतको सरकारले गरेको गल्तीलाई सच्चाएर सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा रहँदा उनको नेतृत्व अब्बल मानिएको छ। जोखिमयुक्त ठाउँको कमाण्ड सम्हालेर अगाडि बढ्न उनी सफल भएका छन्। सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिन्छन्। उनका सहकर्मीहरु सिंहलाई महानिरीक्षकमा नियुक्त भएसँगै बधाई दिइरहेका छन् । असल मान्छेको काँधमा जिम्मेवारी परेकोमा प्रहरी अधिकारीहरु खुशी व्यक्त गरिरहेका छन् ।

महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध घटनाको सफल अनुसन्धान गरेर कतिपय हत्या योजनालाई विफल पार्न सफल सिंहले उपत्यकामा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहँदा तस्करी रोक्न सफल सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा रहँदा ललिता निवास प्रकरण, सिभिल सहकारी हिनामिनालगायत दर्जनौँ बैङ्किङ कसुर तथा अपराधको अनुसन्धानमा संलग्न भएर राष्ट्रको सेवा गरे ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्दा राजनीतिक प्रभावका कारण सिंहलाई पछाडि पारिए पनि सफल अनुसन्धानबाट सिंहले आफ्नो कार्य सम्पादनलाई प्रहरीमा दोस्रो स्थानमा झर्न दिएनन् ।

सिंहले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । सुरक्षा र व्यवस्थापन सम्बन्धी उहाँले विभिन्न तालिम लिएका छन् । अपराध अनुसन्धान, व्यवस्थापन, विशेष व्यक्तिको सुरक्षा, मानवस्रोत व्यवस्थापन सम्बन्धी तालिम लिएको अनुभव उनीसँग छ।

एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी र अमेरिकाबाट अपराध तालिम लिनुका साथै उहाँसँग शान्ति सुरक्षाका लागि पूर्वी टिमोर र सुडानमा गएर काम गरेको अनुभव छ।

विभागीय जिम्मेवारीका क्रममा उनले गोरखा, नुवाकोट, दोलखा, पर्सा र दाङ जिल्लामा प्रहरी प्रमुख भएर काम गरे । सिंहले संघीय प्रहरी इकाई कार्यालय बागमती, महानगर अपराध महाशाखा, टेकु, लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरसँगै डीआईजी बनेपछि प्रदेश प्रहरी कार्यालय, जनकपुर, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा काम गरेका छन् ।

दैलेख जिल्लाको बिजौरामा स्थायी घर भएका सिंह प्रहरीभित्र तल्लो तहका कर्मचारीमा विशेष ध्यान दिने स्वभावका छन् । सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै नेपाल प्रहरीमा नयाँ उत्साह छाएको प्रहरीहरु बताउँछन् ।