काठमाडौँ– धादिङको निलकण्ठ नगरपालिकामा उपमेयरको पदमा कल्पना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।


ADVERTISEMENT


आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसकी नेतृ अधिकारीले आफूले पार्टी संगठनको लागि स्वतन्त्र उम्मेदवारी दिएको जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले काँग्रेसमा निरन्तर २० वर्षदेखि खटिएको उल्लेख गर्दै पार्टी, संगठन, समाज, सबै दाजुभाई, दिदी बहिनीलाई मर्न नदिन स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारिन् । उनले भनिन्,‘अब जनताहरुले सोच्नुपर्ने बेला आएको छ ।’ आफूले बोलेको आवाज समग्र महिला र युवाहरुको आवाज भएको उनले बताइन् ।

समग्र महिला र युवाहरुको खोला जस्तै आँशु बगिरहेको भन्दै २० वर्ष लामो काँग्रेसको राजनीतिलाई तिलान्जली दिएर स्वतन्त्र उम्मेवारको रुपमा उभिएको बताइन् । उनले आफ्नो उम्मेदवारी पार्टीलाई खबरदारी गर्नका लागि भएको बताइन् । उनले सत्ता साझेदार दल बीचको चुनावी गठबन्धन प्रति असन्तुष्टि जनाउँदै उम्मेदरवारी आफ्नो निम्ती नभई संगठनको बचाउको लागि भएको दाबी गरिन् । ‘पार्टी भित्र बसेर दलिय भागवण्डामा आफ्नो पार्टीलाई लिलाम गर्ने होकी, संगठन पनि बिग्रने हो की भन्ने विषयको खबरदारी मैले गर्न खोजेको हो,’ उनले भनिन्, ‘म एउटा मरौला तर मेरो संगठन, समाज, सबै दाजुभाई र दिदी बहिनीलाई मर्न दिन हुँदैन् ।’

लामो समयदेखि आफु कांग्रेसको राजनीतिमा लागेको उल्लेख गर्दै आफूले रुख चिन्हमा खुशीसाथ लड्न पाउनुपर्नेमा नपाएको गुनासो गरिन् । रुख चिन्हमा लड्ने आफ्नो अधिकार भएको दाबी गर्दै पार्टीले संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको कोटा कटौती गरेको उनले टिप्पणी गरिन् । उनले प्रश्न गरिन्,‘संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको आरक्षण कहाँ गयो ? बांगोबाट घुमाएर चोरी तरिकाबाट महिलाहरुलाई सिध्याउने काम भयो ।’

अधिकारीले जनताहरु आफूलाई मत दिन अत्यन्त्तै आतुर रहेको पनि जिकिर गरिन् । पछिल्लो समय आफ्नै जीवनको विभिन्न संघर्षले पनि निकै बलियो हुँदै गएको उल्लेख गर्दै धेरैपटक समग्र महिलाको हकहित, युवा तथा दलितको विषयलाई आफुले उठाउँदै आएको उनले सुनाइन् । ती विषयहरु साच्चिकै आज सम्म पनि सम्बोधन हुन सकेको भन्दै नेतृ अधिकारीले आपत्ति जनाइन् ।

उनले अब जनताले गल्ती नगरी मत दिनु पर्ने धारणा राखिन् । उनले आफ्नो मात्र नभएर हजारौ, युवा, जनजाती, महिलाको आवाज सम्झेर गुलाबको फूलमा मतदान गर्न सबैलाई आग्रह गरिन् । आफुले चुनाव जित्ने पनि विश्वास व्यक्त गरिन् । आफ्नो जित सम्पुर्ण धादिङवासीको जित हुने उनको भनाइ थियो ।

पार्टी संगठनबाट आफु टाढा हुन नखोजेको उनले स्पष्ट पारिन् । आफूले उम्मेदवारी दिन आँट गर्नुनै आफ्नो जित भएको उनको दाबी थियो । कसैको उस्कावटमा लागेर उम्मेदवारी नदिएको भन्दै गठबन्धनको विरोधी नभएको पनि स्पष्ट पारिन् । उनले उक्त पद अरु पार्टीलाई दिएपनि महिलालाई नै दिनपर्ने माग आफुले राखेको तर कसैले सुनुवाई नगरेको उनको भनाई थियो ।

अधिकारीले बाग्मती प्रदेश सरकारको साझेदारीमा, यातायातको साधन नविकरण धादिङमा राख्ने समेत प्रतिवद्धता व्यक्त गरिन् । उनले स्वास्थ्य क्षेत्रमा मानविय सेवा, नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा दिने पनि उनले बताइन् । त्यस्तै, नगरपालिकामा एकल महिलालाई छहारी, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तामा भकारी भर्ने उनको प्रतिवद्धता छ ।