स्थानीय निर्वाचन आउन १० दिन मात्रै बाँकी रहँदा राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो प्रचार–प्रसार तीव्र पारेका छन् । निर्वाचनका लागि सत्तारुढ पाँच दल गरेर तालमेलका साथ अघि बढेका छन् । त्यसको नेतृत्व काँग्रेसले गरिरहेको छ । तर, तालमेलको विषयलाई लिएर काँग्रेसभित्रै असन्तुष्टीका स्वरहरु उठिरहेका छन् । केही स्थानमा तालेमेलबारे असन्तुष्टी जनाउँदै काँग्रेसका स्थानीय नेताहरुले पार्टीको निर्देशन विपरित बागी उम्मेदवारी समेत दिएका छन् । च्नाव नजिकिँदै गर्दा पछिल्लो समय देखिएका राजनीतिक परिदृश्यबारे हिमालय पोष्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठसँग कुराकानी गरेको कुराकानी :


ADVERTISEMENT


देश स्थानीय तहको निर्वाचनमा होमिइरहँदा सरकारलाई के कुराको धपेडी छ ?


ADVERTISEMENT

# # #


मुलुक संघीय संरचनामा गइसकेपछि सरकारले  स्थानीय तहको निर्वाचन गराउनु पर्ने अवश्यम्भावी भएको छ । निर्वाचन टार्न वा लम्ब्याउने काम गर्न हुँदैन भनेर नै सरकारको ध्यान यसतर्फ केन्द्रित भएको हो । संघीय संरचनालाई बलियो बनाउनको लागि नै सरकार प्रयत्न गरिरहेको छ । मुलुकलाई कुन दलले समृद्धिको ढोकातर्फ लैजान्छ भन्ने बुझेर मतदान गर्न पनि म सम्पूर्ण देशवासीलाई आग्रह गर्न चाहन्छु । सरकारको जिम्मेवारी भनेको निर्वाचनलाई धाँधलीरहित, सुरक्षित र भयमुक्त गरी सम्पन्न गर्नु हो । निर्वाचन व्यवस्थापनको जिम्मेवारी लिएर सरकार यसलाई सम्पन्न गर्न लागिपरिरहेको छ । यसैको धपेडी छ ।

नेपाली कांग्रेसले गठबन्धनको नेतृत्व पनि गरिरहेको अवस्थामा यसलाई जोगाएर लैजान कत्तिको चुनौती छ ?

देशको अवस्था र अन्तराष्ट्रिय अवस्थाका अभ्यासहरुलाई हेर्ने हो भने यसबेला गठबन्धनको आवश्यकता अपरिहार्य भएको छ । हाम्रो पार्टी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा पनि यही नै हो । हामीले देशमा जुनखालको लोकतन्त्रको अभ्यास गरिरहेका छौं त्यो एकदमै महत्वपूर्ण छ । यसलाई जोगाउन पनि गठबन्धनको आवश्यकता महसुस भएको छ । अघिल्लो पटकको सरकारसँग दुई तिहाईको बहुमत हुँदा पनि सरकार राम्रोसँग चल्न सकेन ।

मुलुकका अवस्थाहरु नफेरिएपछि कांग्रेसले गठबन्धनको आवश्यकता महसुस गरेको हो ।

संवैधानिक प्रावधानलाई पनि ख्याल गरेर हामी यसका लागि तयार भएका हौं । गठबन्धबाट नै समावेशी मुद्दाहरुलाई जोड्न सकिन्छ भन्ने नेपाली कांग्रेसले अनुभव गरेको छ । यसलाई बचाएर लगेको खण्डमा हामीले देशको मुहार फेर्ने काम गर्नसक्छौं भन्ने लागेको छ । यसलाई जोगाएर लैजान समस्या र चुनौतीहरु भए पनि नेपाली कांग्रेसले समाधानका उपायहरु अबलम्बन गरिरहेको अवस्था छ ।

गठबन्धनका कारण कांग्रेसभित्र पनि एकखालको असन्तुष्टिहरु आएका छन् । असन्तुष्टहरुलाई के भन्न चाहानुहुन्छ ?

पार्टीको राजनीतिमा होमिएपछि अहिलेको अवस्था सबैले बुझिदिनुपर्छ भन्ने मलाई लाग्छ । राजनीतिमा लागेपछि एकखालको ईच्छा आकांक्षा पनि भइहाल्छ । अहिलेको निर्वाचनमा डेढ लाख जनाको मनोनयनले पनि यसलाई देखाएको छ । पार्टीभित्रै पनि पदको आकांक्षा भई नै हाल्छ । त्यति हुँदाहुँदै पनि हिजोको अवस्थालाई हेरेर साथीहरुले यसपटक असन्तुष्टि जनाउन हुँदैनथ्यो जस्तो मलाई लाग्छ ।

चुनावमा उठ्ने संवैधानिक अधिकार पनि छ । यति हुँदाहुँदै पनि यसपटक साथीहरुले उत्साहित भएर पार्टीको राजनीतिलाई फोकस गरिदिनुभएको भए राम्रो हुने थियो । गठबन्धनलाई अप्ठेरो पार्ने, पार्टीलाई असजिलो बनाइदिने कामले हामी कमजोर हुन जान्छौं यो कुरालाई बुझ्न जरुरी छ । समय आएपछि उहाँहरुको व्यवस्थापन पार्टीले गरिहाल्थ्यो ।

अहिले एकदमै मरिहत्ते गरेर पार्टीलाई कमजोर बनाउन पार्टी सभापतिलाई अप्ठेरो हुने काम नगरिदिएको भए राम्रो हुने थियो जस्तो मलाई लाग्छ ।

टिकट वितरणलाई पनि हामीले सुधार गरेर लैजान जरुरी भएको म देख्दछु । महाधिवेशनमा जसरी तलदेखि नै चुनिँदै आउनुपर्छ त्यसरी नै चुनावकै माहोल तयार गरेर टिकट दिने सिस्टम बसाल्न पाए पनि राम्रो हुन्छ ।

यसलाई सुधार गर्न पार्टीले एकखालको भूमिका निभाउनुपर्ने देखिएको छ । यसो नगरे अझै भद्रगोल हुने सम्भावना मैले देखेको छु । आगामी दिनमा योग्य, अनुभवी, त्यागी र परियोजनाहरुको जानकार मान्छेलाई टिकट दिएर कांग्रेस सुध्रँदै जानेछ भन्ने मैले विश्वास लिएको छु । सक्षम नभए पनि पार्टीमा राजनीति गरेको ४० वर्ष भयो मैले टिकट पाउनुपर्छ भन्दै वागी उम्मेदवारी दिने परिपाटीको पनि अन्त हुनुपर्छ ।

गठबन्धनले कांग्रेसलाई फाइदा छ ?

अहिले कांग्रेसलाई फाइदा छ कि छैन भन्दा पनि मुलुकलाई हुने फाइदा हेर्नुपर्छ । कांग्रेसलाई पनि फाइदा नै छ । अरु पार्टीलाई पनि फाइदा छ । जहाँ गठबन्धन भएको छ त्यसमा कांग्रेसकै बढी छ । अरु पार्टीलाई कम छ । राज्य सत्ता सञ्चालनका लागि चाहिने संख्या कांग्रेससँग नभएको अवस्थामा पनि गठबन्धनको सहयोग छ । अन्य दलले मुलुकको शासन सत्ता सञ्चालनको जिम्मेवारी अनुभवी पार्टी कांग्रेसलाई सुम्पिएको अवस्था पनि हो ।

यी भूमिकाहरुलाई हामीले बिर्सन हुँदैन । त्यसैले गठबन्धनलाई सामान्य ढंगले व्याख्या गर्नु हुँदैन । कतै दुख गरेका साथीहरु छुट्नुभयो होला । उहाँहरुलाई मिलाएर लैजाने काम कांग्रेसकै हो । संवैधानिक संरचनाले पनि सकेसम्म सबैलाई मिलाएर लैजानुपर्ने अवस्था सिर्जना गरेको छ । वर्ग, जाति, उत्पीडित, सीमान्तकृत, महिला, दलित सबै पक्षलाई मिलाएर लैजानुपर्ने अवस्था छ ।

जहाँसम्म अहिलेको कुरा छ, राष्ट्रिय राजनीतिमा नै यसबेला खलबल मच्चिएको चितवन जिल्लाका कारण हो । त्यहाँ पनि हामीले छ वटा पालिकामा तीनवटा लिएका छौं । भरतपुरमा साथीहरुले अन्याय भयो भन्ने कुरा उठाउनुभयो । अन्य स्थानमा पनि अरुलाई एउटा दिइएको छ, हामीले धेरै लिएका छौं । त्यो पनि हेर्नुपर्छ । यति हुँदा हुँदै पनि विद्रोह गर्नुभएका साथीहरुको  कारण कांग्रेसलाई अलिकति अप्ठेरो परेको छ । तैपनि म के भन्छु भने गठबन्धनलाई जिताएर सहयोग गरिदिनुपर्छ ।  म यसका लागि अपील समेत गर्न चाहन्छु ।

कोरोना महामारीको विषम समयमा स्वास्थ्य मन्त्रालय हाँक्नुभयो, चर्चा पनि पाउनुभयो अहिले पनि प्रधानमन्त्रीको विश्वासपात्रको रुपमा रहनुभएको छ । राज्यमन्त्रीका रुपमा आँफूले निभाईरहेको भूमिकालाई कसरी लिईरहनुभएको छ ?

म जहिले पनि आफूले सरकारको कुनै जिम्मेवारी लिएर काम गर्दा सेवा गर्न आएको मान्छे हुँ भन्ने महसुस गरेर काम गर्छु । पचास वर्ष अन्य क्षेत्रमा काम गरेर उन्नति प्रगति भइसकेपछि म सेवा गर्ने क्षेत्रमा गएको हो । धेरै क्षेत्रमा हात हाल्दा पनि म फेल भएको छैन ।

सेवाको काम सम्हाल्न नै मैले स्वास्थ्य मन्त्रालय सम्हालेको हो । त्यसकारण राम्रो काम गर्न सकेको हो ।

मलाई सरकारको काम गर्दा देश, जनता र मुलुकलाई हितमा हुने काम गर्नुपर्छ भन्ने लाग्छ । छोटो समय काम गर्दा नै मैले दिगो योजना र छोटो योजनामा काम गर्ने वातावरण तयार गरें । खोपको सुनिश्चितताको लागि धेरै काम गर्नुपर्ने विषम अवस्थामा खोपको आयात गर्ने र छिटोछिटो खोप लगाउनुपर्ने अवस्था थियो । लकडाउन खोल्नु अपरिहार्य भएको अवस्थामा काम गरेको हो । आठ दशवटा समितीहरु पनि बनाएर काम गर्ने वातावरण तयार पारेको थिएँ ।

भएका स्रोतहरुको बाँडफाँड, व्यवस्थापन, जनस्वास्थ्यको समस्यालाई समाधान गर्नुपर्ने चुनौती थियो । मन लगाएर काम गरेको कारण नै धेरैभन्दा धेरै खोप लगाउन सकियो । ७२ दिनमा यस्ता काम गरेको हो ।

अझै पनि मलाई के लाग्छ भने कुनै पनि जिम्मेवारी पाएको खण्डमा म फेल हुने काम गर्दिन ।

अहिले म प्रधानमन्त्रीको कार्यालयमा राज्यमन्त्रीको भूमिकामा छु । छु । त्यहाँ मैले ब्रिजिङ गर्ने काम गरिरहेको छु । यसमा मैले विभिन्न मन्त्रालयमा परिरहेका समस्या समाधान गर्ने काम गरिरहेको छु । अनुभव र योग्यताले भ्याएसम्म गाह्रो साह्रो अप्ठेरोलाई सुल्झाउने काम मैले सम्हालिरहेको छु । सरकारको सफलता र देश तथा जनताकै लागि म अनवरत मेहनतरत छु । 

अझै जिम्मेवारी थपिए हुन्थ्यो जस्तो लागेको छ ?

म सेवा, दान र भोगलाई प्राथमिकतामा राखेर काम गर्न रुचाउँछु । व्यवसायिक पृष्ठभूमिबाट आएको कारण मलाई सरकारी सम्पत्ति यताउता पारौं भन्ने लाग्दैन । अहिले सेवाको काम गर्न हुनेखाने मान्छेहरुले थोरै मात्र दान गरे पनि दीनदुखीहरुको सेवा गर्न सकिन्थ्यो भन्ने सोचेर फाउन्डेसन बनाएर पनि काम गरिरहेको छु ।

मन्त्री पदमा रहिरहँदा पनि अहिले सम्म मैले कुनै पनि सरकारी सेवा सुविधा र तलब लिएको छैन ।

शिक्षा र स्वास्थ्य एकदमै महत्वपूर्ण कुरा हो । यसमा काम गर्नुपर्ने छ । अर्कोचाँहि युवाहरुलाई रोजगार सिर्जना गर्ने काम गर्नुछ । उहाँहरुको सीप विकासलाई एकदमै प्राथमिकतामा राख्नु जरुरी भएको मलाई अनुभव भएको छ । यी कामहरुमा जिम्मेवारी पाए म काम गर्न लालायित छु । जिम्मेवारी नपाए पनि मेरातर्फबाट गर्नुपर्ने काम भने म गरि नै रहन्छु । जिम्मेवारीको लागि एकदमै तछाड मछाड गर्न मलाई मन लाग्दैन । हिजोका दिनमा पनि यसो गरिएन । जिम्मेवारी नपाए पनि मेरा अनुभव, योग्यता र सीप बाँढ्न म तयार नै छु । कांग्रेसलाई सघाउने सहयोग गर्ने कुरा त सँधै रही नै हाल्छ ।

संघीय निर्वाचनका लागि तपाईंको तयारी कस्तो छ ?

दुई पटक मैले सांसद भएर काम गरिसकेको छु । अब अर्कोपटक मैले कि छाड्नुपर्छ कि चुनाव लड्नुपर्छ । यसपटक कांग्रेसको महाधिवेशनमा पनि मैले तलबाट नै चुनाव लडेर आएर अत्याधिक मतले केन्द्रीय सदस्य जितेको हो । कांग्रेसमा तन मन धनले सहयोग गर्न सक्ने योग्य र अनुभवी मान्छेको खोजी भइरहेको छ । त्यसैकारण पनि हामीले जितेका हौं । हामीले पुराना अनुभवीहरुको कदर पनि गर्नुपर्छ । हामीहरुले पनि चुनाव लड्ने वातावरण बनाउन जरुरी भएको छ ।

मभन्दा धेरै सिनियर साथीहरुले महाधिवेशन हार्दा मलाई दुख पनि लागेको छ ।

म संघीय चुनावमा उठ्ने विचारमै छु । मैले चितवन जिल्लामा धेरै कामहरु गरेको कारण म त्यताबाट उठ्ने तयारीमा रहेको छु ।क्षेत्र नम्बरचाँहि अहिले भनिनहालौं । चितवन या भएन भने पनि पार्टीले टिकट दिएको जुनसुकै क्षेत्रबाट चुनाव लड्छु भन्ने निश्चय गरेको छु ।

धेरै मानिसहरुले मलाई मेरा कामका कारण चिन्नुभएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, ऊर्जा, कृषि, व्यापार जस्ता क्षेत्रमा काम गरेको लामो अनुभवले पनि मलाई डर लागेको छैन । सकारात्मक ढंगले कार्यकर्ता र नेताहरुको असन्तुष्टि पनि समाधान गर्न सक्छु भन्ने मलाई विश्वास लागेको छ । यस हिसाबले पार्टीले विश्वास गरेको स्थानबाट चुनाव लड्ने अठोट गरेको छु ।

अन्तिममा, यो देश धनी हुन सक्छ ? तपाईंलाई के लाग्छ ?

मलाई मुलुकको अवस्था देखेर एकदमै चिन्ता लाग्छ ।

म गाउँघरबाट आएको मान्छेले त यति धेरै काम गर्न सकें भने साँच्चै दृढ संकल्प बोकेर हामी काम गर्न तयार भयौं भने दस वर्षमा मुलुक कायापलट हुन्छ । यसमा नेता, कार्यकर्ता जनता, सरकार, स्थानीय तहहरुको मुलुक बनाउने अठोट चाहिन्छ ।

नेपालमा भएको धेरै स्रोत र साधन त्यसै खेर गइरहेको अवस्था छ यसलाई प्रयोग गरेर समृद्धिको ढोका खोल्न आवश्यक छ । मेरो एजेण्डा भनेको सबै स्रोत र साधन प्रयोग गरेर देशलाई आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्छ भन्ने हो । मुलुकका हरेक क्षेत्रको विकासका लागि हामी तयार रहनुपर्छ । उद्योगधन्दाहरु नेपालमा नै खोल्नुपर्छ र हाम्रोमा सम्भावना पनि एकदमै धेरै छ । जसले युवाहरुलाई रोजगारीको अवसर दिनेछ ।

नेपाललाई आर्थिक समृद्धिको बाटोतर्फ लैजान दुई चार वटा काममा फोकस भए पनि पुग्छ । आज भारतमा कोइला अभाव भइरहेको अवस्था छ । हाइड्रो पावरमा लगानी गरेको अवस्था थियो भने हामीले अर्बौं रुपैयाँ मुलुकमा भित्र्याउन सक्थ्यौं ।

हामीले हाइड्रोपावरलाई पनि ब्याट्रीमा कन्भर्ट गर्ने बिजुली बनाउन जरुरी छ । भारतमा अधिकांश स्थानमा सोलार बिजुलीको प्रयोग भएको कारण २४ घण्टा बिजुली दिन सकिरहेको छैन । यो हाम्रो लागि ‘गोल्डेन अपरच्युनिटी’ हो । यस्ता प्रोजेक्टहरु बनाएर हामी अघि बढेमा गरिबीबाट छिटै मुक्ति पाउन सक्छौं । तरलता अभाव, डलरको अभावले सरकार यसरी छट्पटाउनै पर्दैन ।

सरकारसँग पैसा छैन भने देश बनाउन चाहनेलाई मूलुकका जुनसुकै क्षेत्रमा पनि काम गर्न दिनपर्छ । उसले २० वर्षपछि मुलुकलाई फिर्ता गरिहाल्छ । त्यसैले हामीले निजि क्षेत्रलाई दिन हुँदैन भन्ने सोच पनि त्याग्न जरुरी छ । संकीर्ण सोच राखेर देश विकास हुँदैन । पर्यटन व्यवसाय त्यस्तै फराकिलो क्षेत्र हो । हामीसँग हरेक कुरा छ यसलाई बनाउन दिन सक्छौं । टुरिस्ट आएपछि उहाँहरुले खर्च गर्नुहुन्छ । पर्यटन व्यवसायीले पनि पैसा कमाउँछन् । सरकारले पनि कमाउन सक्छ ।

पर्यटनका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्छ । पर्यटकले सहज माहोल खोजिरहेका हुन्छन् । हामी हरेक वर्ष करोडौं पर्यटक आउने वातावरण बनाउन लाग्नुपर्ने छ । कृषि, बनजंगल, जडीबुटी हरेक कुराबाट हामी धनी छौं । यी कुराहरुलाई ध्यानमा राखेर काम गरे हामी पक्कै पनि समृद्ध हुन सक्छौं ।