काठमाडौं – ‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो रु’ यस्तो गुनासो पोख्छिन् ७८ वर्षीया तुलसा पाण्डेय । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन ।


ADVERTISEMENT


रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको निद्राजस्तै भएको छ । बिहान साँझको छाक कसरी टार्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।


ADVERTISEMENT

# # #


आफन्तको साहाराविहीन पाण्डेयलाई दैनिक गुजारा चलाउन सकस छ । नेपाली नागरिकता नबन्दा सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित हुनुपरेको उनी बताउँछिन् ।

नागरिकता बनाउन उनले यहाँका जनप्रतिनिधि, राजनीतिक दल, गाउँवासी सबैलाई पटक–पटक आग्रह गरिरहेकी छन् तर अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । नागरिकतामा परिवारको तर्फबाट प्रमाणित गर्ने व्यक्ति नहुँदा नेपाली नागरिकता पाउनबाट उनी वञ्चित भएकी छन् ।

‘नेपाली नागरिकता पाएमा सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता त पाउँथे, त्यसबाट गुजारा चलाउँथे, सबैसँग बिन्ति गरे अहिलेसम्म नागरिकता बन्न सकेको छैन, हामीजस्ता बूढाबूढीलाई सरकारले दिएको सुविधा उपभोग गर्ने व्यवस्था मिलाइदिनुपर्‍यो,’ उनले गुनासो पोखिन् ।

सोही ठाउँकै ७१ वर्षीया फनिसरा ढुंगानाको पनि समस्या उस्तै छ । उनी पनि नागरिकता पाउने आशामा बसिरहेकी छन् तर अहिलेसम्म बन्न सकेको छैन । परिवारको अवस्था नाजुक हुँदा हाल बहिनी बुद्धिमाया भुसालसँग बसोबास गर्दै आएकी छन् ।

नागरिकता आफूसँग नहुँदा ज्येष्ठ नागरिकका लागि सरकारले दिएको सुविधाबाट वञ्चित हुनुपरेको फनिसरा बताउँछिन् ।
रामपुर नगरपालिका–२ तिलिङ्डाँडा बस्ने जितमाया थापा नेपाली नागरिक भएर पनि आफू नेपाली हुँ भन्ने प्रमाण साथमा नभएको बताउँछिन् । श्रीमानले अर्की श्रीमती ल्याएपछि उनी घरबाट निकाला भइन् । श्रीमानले नागरिकता नबनाइदिएको हुँदा जतिसक्दो चाँडो नागरिकता दिलाइदिन सबैसँग अनुरोध गर्छिन् ।

उनी भन्छिन्, ‘श्रीमानले अर्की बिहे गरेपछि मलाई घरबाट निकालिदिनुभयो, बहिनीको घरमा बसिरहेको छु, नागरिकता मात्रै बनेमा सरकारले दिने भत्ता पाइन्थ्यो, त्यसैबाट थोरै भए पनि जीविका चलाइन्थ्यो ।’ परिवारको तर्फबाट प्रमाणित गर्ने सदस्य कोही नभएको र नागरिकता बनाउने प्रक्रियामा नीति नियम, कानूनले गर्दा अप्ठ्यारो परेको रामपुर नगरपालिकाका कार्यबाहक प्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउँछिन् ।

‘हामीले उहाँहरूको अवस्थाका बारेमा छर्लङ्ग बुझेका छौं, नागरिकता बनाई दिन प्रमुख जिल्ला अधिकारीसमक्ष पनि कुरा पुगेकै छ तर कानून र नीति नियमलाई पनि अनुशरण गर्नैपर्‍यो, हामीले चाहेर मात्रै भएन, प्रक्रिया नपुग्दा अप्ठ्यारो भइरहेको छ,’ उनले भनिन् । जितमाया थापालाई हालै नगरपालिकाले खाद्यान्न व्यवस्थापन, बालबालिकाको शिक्षा सहजता, कानूनी सहायताका लागि रु ११ हजार रकम, तुलसा पाण्डेय र फनिसरा ढुंगानालाई खाद्यान्न व्यवस्थापन तथा औषधि उपचारार्थ ७-७ हजार लैंगिक हिंसा निवारण कोषअन्तर्गत रकम सहयोग गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका महिला सहायक विकास निरीक्षक पूजा परियारले बताइन् ।

वडाले उपलब्ध गराएको सिफारिसको आधारमा समस्यामा परेका अति विपन्न, साहाराविहीन नागरिकलाई नगरपालिकाले सहयोग गरेको छ । सानो भए पनि सहयोग रकम पाउँदा उनीहरु उत्साहित छन् । नगरपालिकाले समस्यामा परेका नागरिकलाई यसभन्दा अगाडि पनि आर्थिक रकम सहयोग गरेको छ ।

आर्थिकरूपले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैंले गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकले सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।