काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कसैले बहस गर्न चाहे घोषणापत्रमा बहस गर्न एमाले तयार रहेको बताएका हुन् । उनले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई पहिला विद्यार्थीहरुसंग बहस गर्न चूनौती दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘नेकपा एमालेको घोषणापत्रको सन्दर्भमा उत्रिन कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हाम्रा लागि कुनै ठूलो कुरा भएन, भर्खरभर्खर पास गरेका भाईबहिनीहरु थुप्रो छन् यस्ता ट्युसन क्लासहरुसँग मुकाबुला गर्ने, भिडाइदिउँला केही छैन ।’

ओलीले आगामी निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने पनि बताए । उनले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिदै वैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने उल्लेख गरे । उनले काठमाडौंमा एमालेको जित सुनिश्चित रहेको भन्दै गठबन्धनका कारण जनतामा त्रास बढेको तर्क गरे ।

कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको बनाएको दाबी गर्दै हिडेको उनको भनाई छ ।

उनले स्थानीय तह चुनाव आएपछि महिला हिंसाको कुरा आएको बताए । उनले भने, ‘कुप्रचार, चरित्र हत्याका प्रचारहरु आउँछन्, मीटू आउँछन् यस्ता बेलामा । मीटूको के जवाफ हुन्छ ? कतिबेर आउँछ भन्दा, चुनाव आयो कि मीटू ।’ ओलीले महिलाको सुरक्षा र अधिकारका लागि लड्ने र आन्दोलन गर्ने पार्टी एमाले मात्रै भएको पनि बताए ।

ओलीले एमालेले घोषणापत्रमा राखेका बिषयहरुलाई जनतामाझ उजागर गर्न पनि निर्देशन दिए । एमाले सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले अवरोध सिर्जना गर्न खोजेको उनले बताए ।