काठमाडौं – ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै आएका छन् । आफू आठ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आएका हुन् । आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताए ।


ADVERTISEMENT


सामुदायिक वनमा गएर काठ काटेर कोइला बनाउन नपाएपछि पेशा नै छाड्नुपर्ने समस्या आएको उनी बताउँछन् । सामुदायिक वनमा पस्न दिँदैनन् । उनले भने, “खाना पकाउन प्रयोग गरिएको दाउराबाट बनेको कोइलाले जेनतेन जीविकोपार्जजन गर्दै आएको छु ।” उक्त वडाभरि उनी नै आरन व्यवसाय सञ्चालन गर्ने एक व्यक्ति हुन् । राम्रो कोइलाको लागि सालको काठ आवश्यक पर्ने उहाँ बताउँछन् । पछिल्लो समय बाली प्रथा छाडे पनि हसियाँ, कोदालो, बन्चारोलगायतका हतियार अर्जाबेको रु ३० देखि ८० सम्म लिने गरेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


वनमा काठ कुहिएर त्यत्तिकै खेर जान्छ तैपनि काट्न पाइँदैन । उनले थपे, “वर्ष दिनमा एक दिन वन खुल्छ, खाना पकाउनका लागि दाउरा काट्न पाइन्छ तर कोइलाका लागि पाइँदैन ।” पुर्ख्यौली घर पर्यटकीयस्थलका रूपमा परिचित सोही वडाको मानुङकोटमा भए पनि बुवाको निधनपश्चात बेँसी बसाइँ झरेको उनी बताउँछन् । “आफूले जानेको पेशा यही हो, कोइलाको अभावमा पेशा नै विस्थापित हुँदा रोजीरोटी गुम्ने खतरा देखिएको छ” विकले भने ।

वर्षौँदेखि आरन पेशा अँगालेर स्थानीयलाई सेवा दिँदै आए पनि हालसम्म कहीँकतैबाट अनुदानका सुविधा पाउन नसकेको उनले दुःखेसो पोखे । उक्त वडाका पतेनी, साँघे, कन्टार, पाटनलगायतका मानिस आरनमा काम दिन आउने गरेको बताइएको छ । रासस