काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वतन्त्र उम्मेद्वारका रुपमा उठेका पार्टीका कार्यकर्तालाई आफ्नो उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका छन् ।
बिहिवार एक अपिल पत्र सार्वजनिक गर्दै देउवाले स्वतन्त्र पार्टी उम्मेद्वार दर्ता गराएका कार्यकर्ताहरुलाई निर्वाचन आयोगले तोकेको समय सीमाभित्र फिर्ता लिन अपिल आग्रह गरेका हुन् ।
यसका साथै उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउनका लागि सघाउ पुर्याउन समेत अपिल गरेका छन् । ‘देशभरका स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु’, पत्रमा उल्लेख छ ।
देउवाले पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिहरूको कार्यशैलीको समग्र मुल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिबद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरू र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टीपंक्ति एकताका साथ जुटिरहेको बताएका छन् ।
नेपाली जनताको दशकौं लामो संघर्ष, त्याग, तपस्या र बलिदानीबाट स्थापित नेपालको संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाको स्थापना र स्थानीय तहसम्म अधिकारको बाँडफाँड र राज्यका निकायहरूको उपस्थितिले आम जनता लाभान्वित हुन पुगेको यथार्थमा दुई मत नरहेको उनको भनाई छ ।
यस्तो छ उनको अपिल पत्रको पूर्ण पाठ :