कैलाली – नेकपा माओवादी केन्द्रले कैलालीको घोडाघोडी नगरपालिकामा नगर प्रमुख नपाए गठबन्धन नहुने बताएको छ । आज बसेको घोडाघोडी नगर कमिटी बैठकले प्रमुख सहित केही वडाध्यक्ष नपाए गठबन्धन स्वीकार गर्न नसकिने निर्णय गरेको हो ।


ADVERTISEMENT


‘विगतमा हामी थोरै मतान्तरले उपबिजेता भएका थियौँ । अहिले हामीले प्रमुखसहित केही वडाध्यक्ष पाउनु पर्छ’ नगर अध्यक्ष खगेन्द्र हमालले भने, ‘ गठबन्धन हामीलाई प्रमुख पदमा स्वीकार्न तयार भएन भने हामी गठबन्धन स्वीकार गर्दैनौँ ।’


ADVERTISEMENT

# # #


उनले आज साँझ छ बजेसम्म यस विषयमा निर्णय लिन नेतृत्वलाई दबाब दिइरहेको समेत जानकारी दिए । ‘हाम्रो पार्टीको नेतृत्वलाई दबाब दिइरहेका छौँ ’उनले भने , ‘आज ६ बजे सम्म यस विषयमा टुङ्गो नलागे भोलि १२ वटै वडा अध्यक्षसहित प्रमुख र उपप्रमुखमा हामी एक्लै उम्मेदवारी दर्ता गर्छौं ।’

घोडाघोडी नगरपालिकामा यसअघिको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार सुयोग चौधरी एमालेका ममताप्रसाद चौधरीसँग पराजित भएका थिए । उपप्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार दुर्गा चलाउने एमालेकी उम्मेदवार प्रेमकुमारी थापासँग पराजित भएकी थिइन् । थापा अहिले एकीकृत समाजवादीमा छिन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख दुबैमा माओवादी दोस्रो भएको हुँदा यस पटक प्रमुख पद माओवादीलाई चाहिने हमालले दाबी गरेका थिए ।

शनिबार गठबन्धनका दलहरू बिच भएको छलफलमा नेपाली कांग्रेसले उक्त पालिका एकीकृत समाजवादीले पाउने प्रस्ताव गरेपछि माओवादी केन्द्रका नेता कार्यकर्ता चिढिएका थिए ।