एजेन्सी – फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा जित हाजत पारेका छन् । सुरुवातदेखि नै अग्रता राखेका म्याक्रोनले अब दोस्रो चरणका लागि उग्र दक्षिणपन्थी प्रतिद्वन्द्वी मारिन ले पेनसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
९७ प्रतिशत मतगणनामा इमानुएल म्याक्रोनले २७.६ प्रतिशत मत पाएसँगै पहिलो चरणको जित सुनिश्चित गरेका हुन् । यस्तै पहिलो चरणमा प्रतिद्वन्द्वी मरिन ले पेनले २४.०३ प्रतिशत र ज्यान–लुक मेलेनचोनले २१–९५ प्रतिशत मत पाएका छन् भने ६.९७ प्रतिशतका साथ एरिक जेम्मोर चौथो स्थानमा छन् ।
दोस्रो पटक राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गरिरहेका म्याक्रोनलाई अब दोस्रो तथा अन्तिम चरणमा मरिन ले पेनले टक्कर दिने पक्का भएको छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल खसेको मतको बहुमत अर्थात् ५० प्रतिशत बढी मत ल्याउनु पर्ने प्रावधान छ ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत पुर्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने दुईजना बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ । दोस्रो चरणमा ५० प्रतिशत वा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार निर्वाचित हुन्छ ।
फ्रान्समा दोस्रो चरणको निर्वाचन अप्रिल २४ मा हुनेछ ।