काठमाडौं – भारत भ्रमणमा रहेकी फस्ट लेडी आरजु राणा देउवाले भारतप्रति नेपालीहरुको सद्भाव सदैव रहने बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा गएकी आरजुले एएनआईसँग कुरा गर्दै दुई देशबीच प्रगाढ सम्बन्ध रहेको बताएकी हुन्।


ADVERTISEMENT


नयाँ दिल्लीबाट बनारस आइपुगेका फस्ट लेडी आरजुले प्रधानमन्त्री देउवासँगै आइतबार विश्वनाथको दर्शन गरिन् । भगवान विश्वनाथसँग विश्व शान्तिको कामना गरेको उनले बताइन्। ‘विश्वनाथसँग के माग्नुभयोरुु एएनआई संबाददताको प्रश्नमा उनले भनिन्, ‘हाम्रो देशको शान्ति, भारतको शान्ति, विश्वको शान्ति र सबैको स्वास्थ्यको लागि प्रार्थाना गरेँ।’


ADVERTISEMENT

# # #


उनले आफू पहिलोपटक सन् १९९० मा बनारस आएको स्मरण गरिन्। सन् २०१७ मा दोस्रोपटक बनारस आएकी उनले पाँच वर्षपछि बनारस आएको बताइन्। ‘पहिलो र दोस्रो नितान्त पारिवारिक भ्रमण थियो,’ उनले भनिन्।

उनले बनारसमा धेरै कुराको बदलाव आएको बताइन्। ‘पाँच वर्षपछि बनारस आउँदा धेरै बदलाव पाएँ। मलाई लाग्यो म अरु कुनै सहरमा आएकी छु। विश्वनाथ क्षेत्रमा त आकाश जमिनकै फरक पाएँ,’ उनले भनिन्।

उनले गंगा झनै सफा देखिएको र सबैभन्दा राम्रो गंगाबाट विश्वनाथ, विश्वनाथमा गंगाको दृश्यले मनमोहक बनाउने बताइन् । उनले विश्वनाथ र पशुपतिनाथ मन्दिरको तुलनासमेत गरिन्। ‘जसरी पशुपति नाथलाई हाम्रा अग्रज राजाले निर्माण गरेका थिए। सायद विश्वनाथ पनि त्यही परिकल्पनामा बनाइएको हुनुपर्छ,’ उनले भनिन्।

विश्वनाथमा आएर जीवन सफल भएको उनले बताइन्। ‘विश्वनाथमा आज म र मेरो श्रीमान पूजा गरेँ। म हिन्दूवादीको लागि यो जीवन सफल भएको मानेकी छु,’ उनले भनिन्।

उनले राजनीतिक र प्रशासनिक क्षेत्र फरक भए पनि नेपाली र भारतीयको सभ्यता एउटै भएको बताइन् । ‘हामी एकै सभ्यताका हौं। हाम्रो सँस्कृति, धर्म र ग्रन्थ पनि मिल्छ। हाम्रो लवाइ खवाइ र पहिचान पनि उस्तै छ,’ उनले भनिन्।

उनले नेपाली र भारतीयको साँस्कृतिक रुप पनि एउटै भएको बताइन् । विश्वनाथ र पशुपति मन्दिरको बारेमा पुरानमा पनि उल्लेख रहेको बताउँदै उनले भनिन्, ‘यो कुनै ४०-५० वर्षको इतिहासको कुरा होइन । पौराणिककालदेखि सम्बन्ध रहेको छ।’

नेपालमा काशीलाई कसरी लिइन्छरु भन्ने संबाददाताको प्रश्नमा उनले धार्मिक मान्यताको बारेमा बताइन् । उनले काशी आएर मृत्युवरण गरे स्वर्ग पुगिने मान्यता रहेको बताइन्। ‘नेपालमा के भनाइ छ भने यदि काशीमा कसैको मृत्यु भयो भने त्यो सिधै स्वर्ग पुगिन्छ,’ उनले भनिन्। तर अहिलेका मानिसहरु अलि बढी संसारिक मोहमा फसेको उनको बुझाइ छ।

उनले प्रधानमन्त्रीरुपमा आफ्नो श्रीमानलाई भारतले भव्य स्वागत गरेको बताइन्। त्यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवादसमेत दिइन्। उनले भारतले नेपालप्रति सौहार्दपूर्ण माया देखाएको बताइन्। ‘हामी सानो देशका हौं। भारतमा एकदमै ठूलो देश हो। तर भारतले नेपालप्रति सौहार्दपूर्ण माया देखाएको छ,’ उनले भनिन्।

उनले नेपालीहरु एकदमै स्वाभिमानी भएको उल्लेख गरिन्। ‘हामी नेपालीहरु एकदमै परिश्रमी, स्वभिमानी हुन्छौं। भारतीयका लागि हाम्रो ठूलो सद्भाव छ। किनकि त्यहाँको सभ्यतासँग हाम्रो धेरै मेल खान्छ। नेपालका धेरै मान्छेहरु इन्डियन टेलिभिजन हेर्छन्। म आफैँ पनि हिन्दी बोल्छु। दुई देशबीच अझै प्रगाढ सम्बन्ध हुन जरुरी छ,’ उनले भनिन्।