गृह मन्त्रालयले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।


ADVERTISEMENT


केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत धिरजप्रताप सिंह, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत वसन्तकुमार पन्त  र प्रधान कार्यालय, कार्य विभागमा कार्यरत रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।


ADVERTISEMENT

# # #


तीन एआइजीका लागि आधा दर्जनबढी प्रहरी नायब महानिरीक्षकहरू दौडमा थिए ।  नेपाल प्रहरीमा पाँच जना एआइजी थिए । तीन जनाको बढुवा भइसकेका कारण अब आठ जना एआइजी हुनेछन्। अहिले थपिएको दरबन्दीमा बढुवा भएका अधिकृतमध्ये सिंह भावी प्रहरी महानिरीक्षकको दौडमा छन् ।

यसअघि एआइजीमा विश्वराज पोखरेल र सहकुलबहादुर थापा बढुवा भइसकेका छन् । उनीहरू स्वाभाविक रूपमा भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा छन्। प्रहरी नियमावलीमा सरकारले उपयुक्त ठानिएको वरिष्ठतम् एआइजी वा उक्त ब्याचको जसलाई पनि महानिरीक्षक बन्ने ढोका खुला भएका कारण प्रतिस्पर्धा हुने ठानिएको छ । बालुवाटार स्रोतका अनुसार पोखरेल र थापाको विकल्पमा तेस्रो व्यक्तिको खोजी भएकै कारण अहिले एआइजी दरबन्दी थपिएको हो।

अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन् । उनीहरूको अवकाशपछि एआइजी पोखरेल, थापासँगै अहिले बढुवा भएका एआइजीहरूबीच प्रहरी महानिरीक्षकको प्रतिस्पर्धा रहने छ।

प्रधानमन्त्री देउवाले पोखरेल र थापालाई नरूचाएका कारण दरबन्दी थपबाट आएका व्यक्तिमध्ये एकलाई प्रहरी महानिरीक्षकको उम्मेदवार बनाउन खोजिएको बुझिएको छ। अहिले एआइजी बढुवामा समावेश भएका सिंह, पोखरेल र थापाको चुनौती बन्ने संकेत देखिएको छ ।