काठमाडौँ – आईसीसी ओडीआई लिग–२को युएई सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)माथि रोमान्चक जित हात पारेको छ ।


ADVERTISEMENT


बुधबार युएईको सारजहा क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनायो ।


ADVERTISEMENT

# # #


जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर २१० रन बनायो । अन्तिममा करण केसीले विष्फोटक ब्याटिङ (२५ बलमा २ छक्का र १ छक्कासहित २९ नटआउट रन) गरेपछि नेपालले रोमान्चक जित हात पारेको हो । अन्तिम १८ बलमा २४ रन चाहिएको अवस्थामा करणले २ चौका र १ छक्का प्रहार गर्दै जित दिलाए ।

खराब सुरुवात भएपनि रोहित पौडेल र आरिफ शेखको सम्हालिएर पाँचौँ विकेटटका लागि १०२ रनको साझेदारी गरेपछि नेपालले जितको आशा कायम राखेको थियो । सो क्रममा रोहितले ८५ बलमा ४ चौकासहित ५८ रन बनाए भने आरिफले ८१ बलमा २ चौकासहित ५३ रन जोडेर आउट भए ।

आशिफ शेखले १६ तथा विनोद भण्डारीले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । पीएनजीका लागि नर्मन भानुवा, एलेई नाओ र रिले हेकुरेले समान २–२ विकेट लिए । यस्तै कप्तान असाद भाला र चाद सोपेरका नाममा १–१ विकेट रह्यो ।

यसअघि पीएनजीका लागि चार्लेस अमिनीले सर्वाधिक ५९ रन बनाए । त्यसक्रममा ८६ बल खेलेका उनले ७ चौका प्रहार गरे । यस्तै चाद सोपेरले ७४ बलमा २ चौकासहित ३५ रन तथा टोनी उराले ३४ बलमा ५ चौकासहित २७ र लेगा साइकाले ३३ बलमा २ चौकासहित २५ रनको योगदान दिए ।

नर्मन भानुवा १२ बलमा २ चौका र १ छक्कासहित २३ रन तथा कप्तान असाद भाला १९ रनमा आउट भए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । उनले १० ओभरमा ४८ रन खर्चिए । यस्तै कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १–१ विकेट लिए । राष्ट्रिय क्रिकेट टोलीमा पहिलो पटक बलिङ गरेका ज्ञानेन्द्रले पहिलो अन्तर्राष्ट्रिय विकेट लिनेक्रममा पीएनजीका कप्तान असाद भालालाई आउट पारे ।

७ टोली सम्मिलित ओडीआई लिगमा नेपालले ९ खेल खेलेर ५ जितसहित १० अंकका साथ छैटौँ स्थानमा रहेको छ । यता लिग २ मा १४ खेल खेलेको पीएनजीले कुनै पनि खेल जित्न सकेको छैन । पएनजी अंक तालिकाको पुछारमा रहेको छ ।

ओमानले २८ खेल खेलेर १७ जितका साथ ३६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने युएईले १५ खेलमा ८ जितसहित १८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । लिग दुईमा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन् । उत्कृष्ट ३ टोली सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको छनोटमा पुग्नेछन् ।

युएई सिरिजमा नेपालले शुक्रबार आयोजक युएईसँग खेल्नेछ ।

तस्बिर सौजन्य : नेपाल क्रिकेट संघ