बनेपा – बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको अत्तोपत्तो नभए पनि विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११ स्थित नागीडाँडामा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको थियो । सो अध्ययन थालिएपछि अब छिटै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी निकै खुसी भए । विमानस्थल निर्माण हुने क्षेत्र नजिकका जग्गाको कारोबार पनि ह्वात्तै बढ्यो । मनपरी ढङ्गले जग्गा प्लटिङ गरिए । चलनचल्तीको भन्दा निकै गुणा मूल्य वृद्धि गराइयो ।


ADVERTISEMENT


तर अब विमानस्थल निर्माण नहुने करिब निश्चित भएको छ । विमानस्थल निर्माणको हल्लाले जग्गाको भाउ मात्र वृद्धि हुन पुगेको गुनासो स्थानीय बासिन्दाको छ । महँगोमा जग्गा किन्नेका लागि यति बेला माछो माछो भ्यागुतोको अवस्था सिर्जना हुन पुगेको छ । बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवराम थापाले विभिन्न व्यक्ति र राजनीतिक स्वार्थकै कारण विमानस्थल निर्माण प्रक्रिया अवरुद्ध भएको बताउँदै भने, “विमानस्थल बनेन । जग्गाको भाउ मात्र बढ्यो । जथाभावी प्लटिङ भए ।”


ADVERTISEMENT

# # #


स्थानीय राजेन्द्र थापाले त्यस क्षेत्रमा विगतमा प्रतिरोपनी सरदर पाँच लाख रुपियाँ पर्ने जग्गालाई २५ लाख रुपियाँसम्म कारोबार भएको बताउँदै विमानस्थल बन्ने हल्लाले सीमित व्यक्तिलाई फाइदा पुग्यो, सर्वसाधारण मर्कामा परे भने ।

विभिन्न समयमा धुलिखेलको ठूलीचौर, चिसापानी र बनेपाको नागीडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरिएको थियो । ती स्थलको २०७५ वैशाखमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोलीले स्थलगत भ्रमण गरेको थियो । त्रिभुवन विमानस्थलमा हवाई चापका कारण समस्या उत्पन्न भएको भन्दै १५ दिनभित्रै उपयुक्त स्थान छनोटका लागि प्रतिवेदन पेस गर्न इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा छ सदस्यीय सुझाव टोली गठन गरिएको थियो । टोली निर्माणसँगै तत्कालीन मन्त्री अधिकारीले प्राविधिक, भौगोलिक र आर्थिक हिसाबले उपयुक्त स्थान छनोट गरी तुरुन्तै निर्माणको प्रक्रिया अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गोरखापत्र दैनिकबाट ।