काठमाडौं – प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोटतर्फ लागेका छन् । शुक्रबार साँझमात्र बालकोटमा ओलीसँग घण्टौँ बातचित गरेर फर्किएका प्रधानमन्त्री देउवा पुनः वार्ताका लागि त्यता लागेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाको यो बालकोट यात्रा तेस्रो रहेको छ । प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट जाँदै छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाको टोली बालकोट पुग्नुअघि कांग्रेस–एमालेबीचका दोस्रो तहका नेताहरुबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री देउवाको टोली बालकोट पुगेर भेटवार्ता गरेर बैठकलाई निष्कर्ष पुर्याइने बताइएको छ ।

बैठक अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसद्बाट पारित गर्नका लागि एमालेको साथ खोज्न प्रधानमन्त्री देउवा पटक पटक बालकोट गइरहेका छन् । यद्यपि, ठोस निर्णय भने हुन सकेको छैन ।

यता, सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लगायत दलले संसद्बाट एमसीसी पास गराउनका लागि विश्वस्त आधार नदिएपछि प्रधानमन्त्री देउवाको पाइला बालकोटतिरै नै केन्द्रित छ ।

आजको बैठकले एमाले र कांग्रेसको आगामी सहकार्यका लागि लिखित सम्झौता नै गरेर अघि बढ्ने तय भएको पनि बताइएको छ ।